गोरखा– गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाले सहमतिसहित विकासमा सहकार्य गदै जाने निर्णय गरेको छ । बिहीबार गोरखा नगरपालिकामा भएको अन्तरपालिका बैठकले विभिन्न ९ वटा निर्णय गर्दै सहकार्य गर्ने सहमति भएको हो ।
बैठकले गोरखा नगरपालिकामा रहेको सब स्टेसनबाट आहाले–फिनाम हुँदै जाने ३३ केभिए विद्युत् प्रसारण लाइन व्यवस्थित गरी ध्याम्पेसालमा बन्नेको सब स्टेसन शीघ्र सञ्चालनमा ल्याउन पहल गर्ने निर्णय गरेको छ ।
वडा न २ को आहाले भन्ज्याङको पहिरो नियन्त्रण गर्नुका साथै आहाले–खान्चोक भन्ज्याङ वैकल्पिक सडक स्तरोन्नति गर्ने कार्य अघि बढाउने निर्णय समेत समन्वयात्मक बैठकले गरेको छ ।
जग्गा वर्गीकरणका क्रममा नगरपालिका र गाउँपालिकाको जिआईएस प्रविधि मार्फत साँध सिमाना अद्यावधिक गर्ने, सिखे्र–बाह्रबिसे–निवेल सडक ट्याक खोल्ने सहमति भएको नगरपालिकाका मेयर कृष्ण राना मगरले बताए।
सहमति अनुसार दुवै पालिकाको सिमानामा रहेको मसेलखोला–निवेल तटबन्ध निर्माण गर्ने, ज्यादुल खोलामा मोटरेबल पुल निर्माण गर्न आवश्यक समन्वय गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले नगरपालिका–झिंगटे–अश्राङ–बोर्लाङ–आरुघाट सडक आयोजना, नगरपालिकाको सिम्ले पँधेरा–पुतलीबजार–सिखे्र सडक आयोजना सम्पन्न गर्न आवश्यक समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ ।
गाउँपालिकाले सञ्चालन गरेको सहिद स्मृति आधारभूत अस्पतालबाट बिमा सेवा शुभारम्भ गर्न नगरपालिकाको छेवेटार स्वास्थ्य चौकीमा रहेको एक्स-रे मेसिन अर्को व्यवस्था नभएसम्म उक्त अस्पताललाई उपलब्ध गराउने निर्णय भएको भीमसेनका अध्यक्ष लोकप्रसाद बन्जाराले बताए ।