दैलेख- नेकपा (एमाले) यतिखेर मध्यपहाडी लोकमार्गअन्तर्गत महाकाली-मेची पदयात्रामा छ।
यसअन्तर्गत सोमबार ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली कर्णाली प्रदेशको दैलेख पुगेका छन्।
दैलेखमा आठ राजनीतिक दलले ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको टिप्पणी गरेका छन्।
चीन सरकारले कुनै पनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको ओलीले बताएका हुन्।
‘अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ। चीनसँग डराएको होइन, अरू को-कोसँग कहाँ-कहाँ डराउँछ?’ अध्यक्ष ओलीले प्रश्न गरे।
राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले नेताहरू राजनीतिका मात्रै नभई विकासका नेता हुनुपर्ने बताए।
विकास अरू देशले आएर नगर्ने भन्दै आफ्नो देशको विकास आफैँले गर्नुपर्ने भएकाले तत्काल विकासको लागि काम थाल्न नेता/कार्यकर्तालाई अध्यक्ष ओलीले निर्देशन दिए।
‘कुनै पनि देश अर्काले आएर बनाइदिँदैनन्। आफ्नो देश आफैँले बनाउने हो,’ ओलीको कथन छ, ‘आयात बढेको छ, निर्यात छैन, झनै घटिरहेको छ। हामीसँग निर्यात गर्ने वस्तु उत्पादन नै छैन। हाम्रो निर्यात भनेको धेरैजसो नक्कली निर्यात छ। बाहिरबाट सुपारी ल्याउने निर्यात गर्ने।’
नेपालसँग निर्यात गर्ने सामग्री नै उत्पादन हुन नसकेका ओली बताउँछन्। अर्काको देशबाट ल्याएर निर्यात गर्ने काम नक्कली नियात भएको ओलीको तर्क छ।
एमालेले सुरु गरेको मेची-महाकाली पदयात्राको क्रममा अध्यक्ष ओलीसहितका एमाले नेताहरू आज बिहान दुल्लु पुगेका हुन्।
यसक्रममा अध्यक्ष ओलीले सोमबार बिहान दैलेखको भैरवी गाउँपालिका-१ स्थित पेट्रोलियम पदार्थ अन्वेषणस्थलको स्थलगत अवलोकन समेत गरेका थिए।
उक्त अवसरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पेट्रोलियम अन्वेषणको काम आफू प्रधानमन्त्री हुँदा सुरु भएको उल्लेख गर्दै यो कामलाई थप अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
दैलेख पुगेका अध्यक्ष ओलीले दैलेखको धार्मिकस्थल श्रीस्थान मन्दिरको समेत दर्शन गरेका थिए।