काठमाडौं– मलेसियन कम्पनी आजियटा एनसेलको सबै शेयर बिक्री गरेर बाहिरिएको छ । तर, सर्वोच्च अदालतमा पूँजीगत लाभकरसम्वन्धी एउटा मुद्दा अझै टुंगिएको छैन । ठूला करदाताको कार्यालयले एनसेलमाथि करिब ५७ अर्ब रुपैयाँ थप कर निर्धारण गरेपछि एनसेल सर्वोच्च गएको थियो । त्यसको आज सुनुवाइ हुँदैछ ।
सर्वोच्चको पेसीभन्दा पाँच दिनअगाडि आजियटा एनसेलको शेयर बेचेर हिँडेको हो । अब उक्त मुद्दाको भाँउतोबाट कम्पनी पन्छिएको छ । तर, यदि एनसेलको विपक्षमा फैसला आए के हुन्छ भन्ने स्पष्ट भएको छैन ।
आजियटाले २०७२ साल चैतमा एनसेलको ८० प्रतिशत शेयर १ अर्ब ३६ करोड ५० लाख डलर (करिब १ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी) मा स्वीडिस दूरसञ्चार जायन्ट टेलियासोनेरासँग खरिद गरेको थियो । यसरी खरिद बिक्री हुँदा कानूनबमोजिम सरकारलाई पूँजीगत लाभकर नतिरिएको भनेर सुरु भएको विवाद अहिलेसम्म पनि पूर्ण रुपमा समाधान हुन सकेको छैन ।
अहिलेसम्म करिब ४७ अर्ब रुपैयाँ पूँजीगत लाभकरका रुपमा तिरिसक्दा पनि मुद्दाबाट उम्किन नसकेपछि आजियटा निराश भएर हिँडेको हो ।
ठूला करदाताको कार्यालयले कम्पनीलाई थप ५७ अर्ब ९० करोड रुपैयाँ कर निर्धारण गरेपछि आजियटाले अन्तर्राष्ट्रिय मध्यस्थकर्तासमेत गुहारेको थियो । तर, लगानी विवाद समाधानसम्वन्धी अन्तर्राष्ट्रिय केन्द्र (इक्सिड) बाट पनि पार लागेन । अन्ततः सर्वोच्चको फैसला प्रतिक्षा नगरि एजियटाले सस्तो मूल्यमा एनसेल बिक्री गरेको हो ।
इक्सिडले एनसेलबाट नेपाल सरकारले उठाइसकेको पूँजीगत लाभकरलाई समर्थन गरे पनि थप ५७ अर्ब माग गरिएको विषयमा भने कुनै पनि फैसला दिएको छैन । त्यसैले यो विषय सर्वोच्चले नै निरुपण गर्नुपर्ने भएको छ ।
यदि सर्वोच्चले यसरी माग गरिएको रकम आजियटाले तिर्नुपर्ने फैसला सुनाएमा जटिलता सिर्जना हुन सक्छ । आजियटाले कम्पनी बिक्री गरिसकेको छ । एनसेल खरिद गर्ने स्पेक्ट्रलाइट यूके लिमिटेड नेपालीले नै स्थापना गरेको कम्पनी हो ।