बारा– सिम्रौनगढ नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ।
नगरपालिकाका स्थानीय लक्ष्मी किशोरी मुखिया बिनको प्रहरीको गोली लागेर ज्यान गएको हो।
नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्रलाई हाजिर गराउने क्रममा प्रतिपक्षी समूह तथा अनसनमा बसेका व्यक्तिहरूले हाजिर गर्न नदिएपछि विवाद सिर्जना भएको थियो।
आन्दोलनकारीले एक्कासि ढुंगामुढा प्रहार गरी नगरपालिकाको गाडी तथा नगरपालिकाको भवनमा तोडफोड गरेका थिए। सो क्रममा स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्याँस तथा हवाई फायर गरेका थिए।
हवाई फायर गर्दा प्रहरीको गोली लागेर बिनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। विवाद बढ्दै गएपछि झडप भएको र झडप नियन्त्रणका क्रममा १० जना प्रहरी घाइते भएको बताइएको छ।
भिड नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारी लक्ष्मी किशोरीको मृत्यु भएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। प्रहरी उपरीक्षक काफ्लेका अनुसार झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढाले आक्रमण गरेका थिए।
यस्तै घाइते भएका प्रहरीहरूलाई उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक काफ्लेले बताए। सिम्रौनगढ नगरपालिकामा विगत दुई महिनादेखि तलब भत्ता माग गर्दै शिक्षक र कर्मचारी आन्दोलनमा छन्।