काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, एक पालिका एक हुलाक स्थापनाको प्रयास भइरहेको जानकारी दिएकी छन् ।
बुधवार प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यस्तै, बजेटमै अतिरिक्त हुलाक खारेज गर्ने विषय समेटिएको भन्दै अब एक पालिका एक हुलाक स्थापनाका लागि गृहकार्य भइरहेको जानकारी दिइन्।
‘अहिलेको हाम्रो बजेट कार्यक्रममा अतिरिक्त हुलाक खारेज गर्ने भनेर आएको छ । त्यसको प्रक्रिया कस्तो हुन्छ, एकै पटकमा खारेज गर्ने वा प्रक्रियामा खारेज गर्ने, कर्मचारीहरू नयाँ थप नगर्ने पुरानाहरूलाई सेवा सुविधा दिएर बिदा गरेर खारेज गर्दै जाने दुई वटा कुरामा के गर्ने भन्ने कुरामा हामी छलफलमा छौ ।’ उनले भनिन् ‘हाम्रो मन्त्रालयले प्रस्ताव पठाएको छ । यो अतिरिक्त हुलाकलाई खारेज गर्नु भनेको हुलाक सेवा बन्द गर्नु होइन । अतिरिक्त हुलाकलाई खारेज गर्ने एउटा पालिकामा एउटा हुलाक स्थापना गर्ने भनिएको हो । यो छलफलको क्रममा छ ।’ उनले भनिन् ।
त्यस्तै सुरक्षण मुद्रण व्यवस्थित गर्न आवश्यक रहेको पनि उनले बताइन् ।
‘सुरक्षण मुद्रण र मुद्रण विवरणलाई गाभेर जाने हो भने यो विधेयक पूरै परिवर्तन हुन्छ, सुरक्षण मुद्रणलाई छुट्टै संस्थाको रूपमा सोचेर विधेयक आएको हो । ’ उनले भनिन् ‘ सुरक्षण मुद्रण आफैमा धेरै महत्त्वपूर्ण कुरा हो यसरी गाभ्न भनेर मात्रै हुदैँन् । सुरक्षण मुद्रण आवश्यक कुरा हो भनेर नै आएको हो तर अहिले मन्त्रालयमा भइरहेको छलफल यो मुद्रण विभाग छ, त्यसमा बढी म्यानपावर भयो भने त्यसलाई कम गरौँ तर सुरक्षण मुद्रणलाई व्यवस्थित गरौँ भन्ने सञ्चार मन्त्रालयको कुरा छ । तर यो कुरामा टुङ्गोमा पुग्या छैनौ ।’
आज समितिमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको थियो ।