सिरहा– डिभिजन वन कार्यालयले प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
धनगढीमाइ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतोसहित १८ जनाविरुद्ध नदी दोहनको आरोपमा जिल्ला अदालत सिरहामा मुद्दा दायर गरिएको हो ।
कानुन विपरीत खोला ठेक्का लगाएर ढुङ्गा, गिटी, बालुवा उत्खनन गरे/गराएको अभियोग उनीहरूमाथि छ ।
धनगढीमाई नगरपालिका-१२ र १३ स्थित सर्रे खोला सामुदायिक वन क्षेत्र भित्रबाट विना इजाजत ढुङ्गा, गिटी, बालुवा उत्खनन गरिरहेको अवस्थामा गत १५ मंसिरमा जेसीबी र ७ वटा ट्याक्टरसहित केही व्यक्तिलाई वन कार्यालय र प्रहरी टोलीले पक्राउ गरेको थियो ।
पक्राउ परेका मञ्जित कुमार यादव, फुलकुमार यादव, सन्दीपकुमार यादव, रामकुमार यादव, अरविन्द किशोर यादव, इन्द्रजित महतो, रमन किशोर यादव, पुरुषोत्तम यादवविरुद्ध डिभिजन वन कार्यालयले मुद्दा दायर गरेको डिभिजनल वन अधिकृत सुजित कुमार झाले बताए ।
त्यस्तै जेसीबी धनी बद्री यादव, ट्रयाक्टर धनीहरू अजित पासवान, रधुनाथ कुमार महतो, विमल अधिकारी, सरोज कुमार यादव, राकेश यादव, हरि नेपाली र धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महतो, प्रशासन शाखाका सहायक रञ्जित कुमार सिंह र वरुण कन्सट्रक्न, धनगढीमाई नगरपालिकाकाका प्रोप्राइटर निलम कुमारी यादवविरुद्ध पनि मुद्दा दायर गरिएको अधिकृत झाले बताए ।
उनीहरुविरुद्ध अवैध उत्खनन गरेको आरोपमा १ लाख ५७ हजार ८१५ रुपैयाँ बराबरको हानि नोक्सानी बिगो दाबी गरिएको छ ।