गोरखा– भिमसेनथापा गाउँपालिका-१,घ्याम्पेशलमा रहेको दुल्लभ माद्यामिक विद्यालयको व्यवस्थापन समिति गठन नगरेको भन्दै अभिभावक र नागरिक समाजले शिक्षा अधिकृतलाई ध्यानाकर्षण गराएका छन्।
विद्यालयको व्यवस्थापन समिति गठन भएको तीन वर्ष ९ महिना बितिसक्दा पनि नयाँ समिति गठन गर्नुको साटो पुरानै म्याद सकिएको अवैधानिक समितिबाट सामाजिक लेखा परीक्षण तथा शिक्षक सरुवा सहमति जस्ता विद्यालयको महत्त्वपूर्ण गतिविधि गरेको भन्दै अभिभावक भेलाले शिक्षा अधिकृत यान बहादुर नेपालीलाई हस्ताक्षर सहित गम्भीर ध्यानाकर्षण गराएका हुन्।
विद्यालय व्यवस्थापन समिति गठन गरी अन्य कामकाजलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन अभिभावकहरूले विद्यालय प्रशासनलाई अनुरोध गर्दा समेत प्रशासनले बेवास्ता गर्दै एकलौटी रूपमा एकपछि अर्को गलत निर्णय गरेको अभिभावकहरूको आरोप छ। यस्ता अनियमितता भई रहँदा पनि शिक्षा शाखा मौन रहेको भन्दै अभिभावकहरूले आक्रोश व्यक्त गरेका छन्।उनीहरूले विद्यालय प्रशासनको उक्त कार्यको घोर भर्त्सना गर्दै अविलम्ब गलत कार्य रोकी विद्यालयलाई सही गतिमा लैजान माग समेत गरेका छन्।
तत्कालीन प्रधानाध्यापक शिव प्रसाद भट्टको कार्यकालमा विद्यालयले गत ०७६ साल चैत्र ६ गते विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको थियो। यो मितिले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको म्याद गत ०७९ चैत्र ५ गते सकिन्छ। शिक्षा नियमावली (नवौँ संशोधन) ०७७ अनुरूप विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको पदावधि ३ वर्षको रहने व्यवस्था छ। समितिले आफ्नो पदावधि समाप्त हुन भन्दा ३० दिन अगावै अभिभावक भेला गरी नयाँ समिति पुनः गठन गर्नु पर्ने कानुनी प्रावधान छ।
यसै विषयमा दुल्लभ माद्यामिक विद्यालयको प्रधानाध्यापक मोहन बाबु सापकोटाले पुरानो विद्यालय व्यवस्थापन समितिको म्याद सकिएकोले अब आउने केही दिनमै नयाँ समिति गठन हुने बताए। उनले चाडपर्व लगायत विद्यालयको व्यस्तताले गर्दा समयमै व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन हुन नसकेको र पुरानै समितिबाट नियमित कामकारबाही भई रहेको बताए। यो समिति वैधानिक हो ? भन्ने हाम्रो प्रश्नमा प्रधानाध्यापक सापकोटाले भने; वैधानिक अवैधानिक भन्ने विषय अदालतले भन्ला, तर नयाँ समिति बन्ने प्रक्रियामा छ,नबनुन्जेल यही समितिले काम गर्छ।
गाउँपालिकाको नमुना विद्यालयको रूपमा रहेको दुल्लभ पछिल्लो समय निकै विवादित बन्दै आएको छ। विद्यालयमा हुने राजनीतिक खिचातानी, व्यक्तिगत स्वार्थ विवादितका प्रमुख कारण हुन्। केही समय पहिले एक स्थानीय शिक्षकलाई प्रधानाध्यापक नियुक्ति र मासिक ज्यालादारीमा गोप्य रूपमा लेखापाल राखिएकोबारे विद्यालयमा निकै ठुलो विवाद सृजना भएको थियो।