गोरखा- जिल्लामै पहिलो पटक चिस्यान केन्द्रमा फलफूल राख्न थालिएको छ । बेमौसममा पनि फलफूलको अर्ग्यानिक स्वाद ग्राहकलाई दिने उद्देश्यले सहिद लखन गाउँपालिकामा सुन्तला जातको फलफूल भण्डारण गरिएको हो ।
नवसृजना कृषिजन्य उत्पादन केन्द्रले गाउँपालिका वडा नम्बर ५ स्थित जुम्ली चौतारा बझाडीमा निर्माण गरेको भवनमा फलफूल भण्डारणको सुरुवात गरिएको हो । आजको दिन सम्म ३१० क्रेट सुन्तला भण्डारण भएको केन्द्रका सञ्चालक ध्रुव खनालले जानकारी दिए । प्रति महिना प्रति केजी पाँच रुपैयाँ लिने गरी सुन्तला भण्डारण गरिएको छ ।
हालसम्म एउटा किसानले १६० क्रेट र अन्य १० जना किसानहरूले गरी ३१० क्रेट संकलन भएको उनले बताए ।
चिस्यान केन्द्रमा तीन वटा ब्लक रहेका छन् । एउटामा ४०० र बाँकी दुई वटामा ३०० का दरले जम्मा एक हजार क्रेट क्षमताका रहेका छन् । प्रति क्रेट वीस केजी सुन्तला रहने अनुमान गरिएको छ ।
मनकामना, क्षेत्र भित्र रहेका सुन्तलालाई ब्राण्डिङ गरेर अफ सिजनमा पनि ग्राहकलाई प्रदान गर्ने उद्देश्यले चिस्यान केन्द्रमा राखिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले बताए ।
चिस्यान केन्द्र निर्माणका लागि कृषि बजार पूर्वाधार निर्माण अन्तर्गत गाउँपालिकाबाट २० लाख अनुदान प्राप्त भएको केन्द्रका सञ्चालन खनालले बताए ।
संघीय सरकार र गाउँपालिकाको सहयोगमा बुँकोट खाब्दी भन्ज्याङ, ताक्लुङ जुम्ली चौतारा स्थित बझाडी, मनकामना रामशाहघाट हाट बजारमा भवन सहितको चिस्यान केन्द्र र घैरुङ स्थित खगीमा तरकारी संकलन केन्द्र स्थापना भएको गाउँपालिका कृषि विकास अधिकृत ऋषि रोकाले बताए ।
सुन्तला फुल खेल्नु दुई महिना अघि टिपिसक्नुपर्ने भएकाले किसानहरूले धमाधम सुन्तला ल्याउने क्रममा रहेको वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्र बहादुर रानाले बताए ।
बेमौसममा बाहिरबाट आउने सुन्तलालाई मनकामनाको सुन्तलाले विस्थापित गर्ने उनको भनाई छ । रसले पूर्ण मनकामनाको सुन्तला नेपालमा प्रख्यात रहँदै आएको छ ।