काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजिनामा दिएका छन्।
प्राधिकरणसँग सम्बन्धित खरिद, स्मार्ट टेलिकमको लाइसेन्स खारेजी, एनसेलको सेयर खरिदबिक्रीको प्रक्रिया चलिरहेको समयमा अध्यक्ष खनालले राजिनामा दिएका हुन्।
खनालले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई आफ्नो राजिनामा पत्र बुझाएको जानकारी दिए। भोलिदेखि लागू हुनेगरि राजिनामा दिएको उनले जानकारी दिए।
शर्मा मन्त्री भएदेखि नै अध्यक्ष खनाललाई हटाउन खोजेकी थिइन्। प्राधिकरणसँग जोडिएका विषयमा निर्णय गराउनका लागि भन्दै शर्माले खनाललाई दबाब दिएकी थिइन्।
मन्त्री शर्माको दबाब अनुसार काम नगरेपछि मन्त्रालयका सल्लाहकार मार्फत् खनालमाथि दबाब बढेको थियो। अध्यक्षकै सेवा सुविधा प्राधिकरणबाट दिनेगरि सल्लाहकार नियुक्त गरिएको थियो।
प्राधिकरण स्रोतका अनुसार उनी आजैबाट बिदाबारी भएर हिँडेका छन् । खनालको कार्यकाल आगामी साउन पहिलो सातासम्म थियो ।