काठमाडाैं– रञ्जना व्यापार संघको नवौँ वार्षिक साधारणसभा तथा पाचौं अधिवेशनले अध्यक्ष पदमा हरिप्रसाद पाण्डेलाई निर्विरोध चयन भएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्य तथा संघका निवर्तमान अध्यक्ष बिना श्रेष्ठको सभापतित्वमा आज (बिहीबार) सम्पन्न संघको साधारणसभा तथा अधिवेशनले १७ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।
अध्यक्षमा पाण्डे, उपाध्यक्षमा दीपेन्द्र क्षेत्री र मुरारी प्रसाद तिमिल्सिना, महासचिवमा महेश पौडेल, सचिवमा सिताराम तिवारी र राजेन्द्र कँडेल, कोषाध्यक्षमा यमकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा आशा मिण्डा चयन भएका छन् भने सदस्यहरूमा मुना थापा, कमल पराजुली, एलिशा श्रेष्ठ, सुनिता लामा, रुपा तामाङ (थापा), सुरज कुमार खड्का, पदम न्यौपाने, कृष्ण अधिकारी र सुशील बेल्यासे चयन भएका हुन् ।
मन्त्री रिजालले संघका व्यवसायीहरूको हकहितमा मात्र नभई सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर रहेको भन्दै खुसी व्यक्त गरे । उनले निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल सफलतापूर्वक पुरा गरेको बताउँदै नयाँ कार्यसमितिलाई पनि अधुरा कामहरू पुरा गर्दै जान आग्रह गरे ।
संघका निवर्तमान अध्यक्ष श्रेष्ठले व्यापारीहरूको हकहितका लागि स्थापना भएको संघले स्थापनाकालदेखि नै रञ्जनामा व्यापार व्यवसाय गर्दै आएका सम्पूर्ण व्यापारीको पक्षमा बहस पैरवी तथा विभिन्न निकायहरूसँग बहस, छलफल र आवश्यक खबरदारी गर्दै आएको बत्ताइन् ।
संघले रञ्जना ट्रेडमा मात्र सीमित नभई देश तथा विदेशमा पनि आफ्नो उपस्थिति जनाउँदै आएको उनले बत्ताइन् । साथै, संघले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विविध सामाजिक कार्यहरू पनि गर्दै आएको श्रेष्ठले बत्ताइन् । उनले आफू कार्यकालमा रहँदा कर शिक्षा अभिमुखीकरण, वाणिज्य र कर कार्यालयमा दर्ता अभियान, रक्तदान, खेलकुद, राहत वितरण जस्ता विविध कार्यहरू गरेको बत्ताइन् ।
आगामी कार्यसमितिले आफ्नो कार्यकालमा गर्न छुटेका अधुरा कामहरूलाई पुरा गर्दै जाने र सामाजिक कार्यहरूलाई पनि निरन्तरता दिँदै जानेमा आफू विश्वस्त रहेको बताउँदै श्रेष्ठले संघप्रति आफ्नो साथ र सहयोग सदैव रहने समेत प्रतिबद्धता जनाइन् ।
अघिल्लो कार्यकालमा संघका महासचिव रहेका नवनिर्वाचित अध्यक्ष पाण्डे लामो समयदेखि निरन्तर व्यापारी व्यवसायीहरूको हकहितका लागि काम गरिरहेका छन् । आफू कार्यकालमा रहँदा व्यापारीहरूका आवाजलाई सरोकारवाला निकायहरूमा पु¥याई समस्याका समाधान गर्न लागिपरेका थिए । साथै आफूले कार्यभार सम्हाल्दै गर्दा आफूमा थप जिम्मेवारी थपिएको महसुश भएको बताए ।
संस्थालाई उचाईमा प¥याउन जस्तोसुकै परिस्थितिमा पनि कटिबद्ध भएर लाग्ने बताए । अझै साना तथा मझौला व्यवसायीहरूको थुप्रै समस्याहरू यथावत् नै रहेको बताउँदै उनले ती समस्याहरू समाधान गर्दै सामाजिक कार्यलाई पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई संघका कानुनी सल्लाहकार हरि तिवारीले शपथ ग्रहण गराएका थिए ।
काठमाडौंको न्युरोडस्थित रञ्जना मलमा व्यवसाय गर्दै आएका व्यवसायीहरूको छाता संस्था रञ्जना व्यापार संघ साना तथा मझौला व्यवसायीको समस्यालाई समाधान गर्ने उद्देश्यले स्थापना भएको हो ।
संस्थाले स्थापनाकालदेखि व्यवसायीहरूको हकहितका साथै सामाजिक क्षेत्रमा पनि उत्तिकै अग्रसर भएर काम गरिरहेको छ । बाढीपहिरो, भूकम्प, कोरोनाजस्ता महामारीमा राहत तथा आर्थिक सहयोग गर्नुका साथै रक्तदान, स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरू पनि आयोजना गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि यस्ता कार्यलाई निरन्तरता दिँदै जाने संघले प्रतिबद्धता जनाएको छ ।