काठमाडौं– काठमाडौं महानगरपालिकाले साइबर सेक्युरिटी तालिम दिने भएको छ। महानगरले चार हजार जनालाई तालिम दिलाउने भएको हो।
‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार जनालाई तालिम दिने र ५ हजार जनालाई रोजगारीमा आबद्ध गराउने लक्ष्य छ। त्यसअन्तर्गत इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्यमा साइबर सेक्युरिटी तालिम सुरु गर्न लागिएको महानगरपालिकाले जनाएको छ।
माघ २ गते यो तालिमको औपचारिक सुरुवात गर्ने तालिका छ। यो सहकार्यबाट ५ करोड रुपैयाँको छात्रवृत्ति प्रदान गरिनेछ।
साइबर सुरक्षा, सीप रोजगारमूलक शिक्षा भएको भन्दै तालिमले व्यक्तिलाई सम्भावित साइबर अपराधबाट बचाउने र सीपबाट रोजगार क्षेत्रमा आवद्ध हुन सक्ने महानगरले जनाएको छ।
सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेसाकर्मीहरुलाई तालिममा साइबर जोखिमबाट बचाउने ज्ञान र सीप प्रदान गरिनेछ।