काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन्।
प्रतिष्ठानका सिनेट सदस्यसमेत रहेका साम्पाङले सोमबार उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाइदिएका हुन्।
प्रतिष्ठानका शिक्षक र कर्मचारीहरू केही दिनयता आन्दोलित छन्।
आन्दोलन चलेसँगै प्रतिष्ठानको समस्या नमिलाई उपकुलपति कार्की बिदामा बसेका छन्। बिदामा बसेका कार्कीको कार्यकक्षमा सोमबार दिउँसो पुगेर मेयर साम्पाङले ताला लगाएका हुन्।
उपकुलपति कार्कीको कार्यकक्षमा आफूले लगाएको ताला नखोल्न पनि साम्पाङले चेतावनी दिए। उनले यो ताला आफैँ आएर खोल्ने भनेर हिँडेका छन्। प्रतिष्ठानमा आन्दोलन चर्किँदै गएपछि कामु उपकुलपति कार्की सम्पर्कबाहिर छन्।
कार्यकारिणी समितिको बैठक डाकेर बिदामा बसेका कार्कीविरुद्ध शिक्षक र कर्मचारीहरू निषेध आन्दोलन चलाएका छन्। उनीहरूले कार्कीलाई प्रतिष्ठानमा पस्न नदिने चेतावनी दिएका छन्।
प्रतिष्ठानको कामु उपकुलपति बनेयता कार्कीले कर्मचारीको बढुवा प्रक्रिया रोकेका छन्। यसलाई लिएर गत कात्तिक २० गते शिक्षक र कर्मचारीसँग समहति भएको थियो। तर, अझै पनि त्यो समहति कार्यान्वयन भएको छैन।
यसबीचमा आन्दोलित कर्मचारी र शिक्षकलाई साथ दिँदै मेयर साम्पाङले पनि उपकुलपति कार्कीको राजीनामा मागेका छन्।
मेयर साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीच आइतबार उपमहानगरको कार्यपालिका बैठकमा भनाभन भएको थियो।