गोरखा– स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा गोरखाका ११ वटा पालिकाहरूको अंक थपघट भएको छ।
आर्थिक वर्ष २०७९/८० का आधरमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ अनुसार गरेको मूल्याङ्कनमा सबैभन्दा बढी अंक भने सहिद लखन गाउँपालिकाले पाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा शहिदले ८३.७५ अंक पाएको थियो भने यसपटक ८७ अंक पाएको छ । गोरखाका ११ पालिकामा सबैभन्दा कम चुमनुव्री गाउँपालिकाले पाएको छ । चुमनुव्रीले ४८.२५ अंक पाएको हो । चुमनुव्रीले अघिल्लो वर्ष ५७.२५ अंक पाएको थियो ।
भौगोलिक हिसाबले बिकट मानिने उत्तरी गोरखाको चुमनुब्रीको स्वमूल्याकंनको प्रतिशत भने जिल्लाका अन्य स्थानीय तहको भन्दा कम देखिएको छ ।
यता गोरखाको मुख्य बजार र सदरमुकाम क्षेत्र समेटिएको गोरखा नगरपालिकाको स्वमूल्याकंन प्रतिशत पनि निकै कम छ । बिकट मानिने चुमनुव्री सरह गोरखा नगरपालिकाले पनि ५० प्रतिशत मात्र अंक ल्याउन सफल भएको छ ।
संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा नगरपालिका निकै कमजोर देखिएको छ । सो नगरपालिकाले संगठन तथा प्रशासन तर्फ कुल ८ अंकमा ३.७५, वार्षिक बजेट तथा योजना व्यवस्थापन तर्फ ११ मा ३, सामाजिक समावेशीकरण तर्फ १० मा २.७५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन तर्फ ९ मा ४ अंक प्राप्त गरेको छ ।
८६ प्रतिशत अंक प्राप्त गर्दै बारपाक सुलिकोट गाउँपालिका दोस्रो भएको छ । बारपाकले अघिल्लो वर्ष ८४.७५ अंक पाएको थियो ।
भीमसेन थापा गाउँपालिका ८४.५ प्रतिशत अंक ल्याएर तेस्रो बनेको छ । भीमसेनको आर्थिक वर्ष २०७८/७९ मा ७४.५ अंक पाएको थियो । उक्त पालिकाले निर्धारित सूचकहरूमध्ये सामाजिक समावेशीकरणमा शत प्रतिशत अंक प्राप्त गरेको छ भने सबैभन्दा कम वित्तीय एवं आर्थिक व्यवस्थापनमा कुल ११ अंकमा ८.२५ अंक प्राप्त गरेको छ ।
न्यायिक कार्य सम्पादन तर्फ शत प्रतिशत अंक ल्याएको पालुङटार नगरपालिकाले औसत ७९.२५ प्रतिशत अंक प्राप्त गरेको छ । पालुङटारले अघिल्लो वर्ष ५०.२५ अंक पाएको थियो भने यस पटक केही सुधार गरेको छ ।
नगरपालिकाले शासकीय प्रबन्धमा९१.६७, संगठन तथा प्रशासनमा ७८.१३, वार्षिक बजेट तथा योजना व्यवस्थापन ७०.४५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ८४.०९, सेवा प्रवाहमा ८७.५, न्यायिक कार्य सम्पादनमा शतप्रतिशत, भौतिक पूर्वाधारमा ७३.०८, सामाजिक समावेशीकरणमा ६५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६६.६७ र सहकार्य र समन्वयमा ७९.१७ अंक पाएको छ ।
स्वमूल्याकंनमा आरुघाट गाउँपालिकाले ७२ प्रतिशतले पाएको छ । आरुघाटले समग्र स्थितिमा ८०.९५, प्रक्रियागत स्थितिमा ६७.६५ र परिमाणात्मक स्थितिमा ७१.११ अंक ल्याएको छ । गत वर्ष आरुघाटले ६१ प्रतिशत अंक पाएको थियो ।
जिल्लाका सबैभन्दा सानो र कम वडा भएको अजिरकाेट गाउँपालिकाले अघिल्लो वर्षको तुलनामा बढी अंक पाएको छ । अजिरकाेटले अघिल्लो वर्ष ५०.२५ अंक पाएको थियो । यसपटक केही सुधार हुदैं अजिरकाेटले ६७.२५ प्रतिशत अंक पाएको छ । अजिरकाेटकाे समग्र स्थिति ७०.२४, प्रक्रियागत स्थिति ६०.२९ र परिमाणात्मक स्थिति ७१.११ प्रतिशत रहेको छ ।
सिरानचोक गाउँपालिकाले ६६ प्रतिशत अंक प्राप्त गरेका छन् । अघिल्लो बर्ष सिरानचाेकले ७९.५ अंक ल्याएको थियो । अघिल्लो वर्षको तुलनामा सिरानचाेककाे अंक घटेको छ । सिरानचाेककाे समग्र स्थिति ६६.६७, प्रक्रियागत स्थिति ६६.१८ र परिमाणात्मक स्थिति ६५.५६ प्रतिशत रहेको छ ।
गण्डकी गाउँपालिकाको भने स्वमूल्याङ्कनको नजिता सार्वजनिक भएको छैन । लिसामा सार्वजनिक नभएको नतिजामा पालिकाले ८३ अंक पाएको छ । गण्डकीमा अघिल्लो वर्ष ६३.५ अंक पाएको थियो ।