काठमाडौं– सरकारले भिजिट भिसासम्बन्धी यसअघिको १७ बुँदे कार्यविधि खारेज गर्दै ६ बुँदे नयाँ कार्यविधि जारी गरेको छ ।
यसअघिको कार्यविधिको कडाइले नक्कली कागजात बनाउने गिरोहको चलखेललाई मलजल गरेको देखिएपछि पुरानो कार्यविधि खारेज गर्दै गृहमन्त्रालयले नयाँ कार्यविधि बनाएर जारी गरेको हो ।
राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणाको कागजात आवश्यक र्ने व्यवस्था गरिएको नयाँ कार्यविधि बुधबारदेखि लागू हुनेछ । यसअघिको १७ बुँदे कार्यविधि अव्यवहारिक भएको चौतर्फी आलोचनापछि गृहसचिव दिनेश भट्टराईले ६ बुँदे नयाँ कार्यविधि जारी गरेका हुन् ।
नयाँ कार्यविधिले भिजिट भिसामा जाने नेपालीका लागि सहज हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाल बताए । उनका अनुसार भिजिट भिसामा विदेश जाने उतै हराउने प्रवृत्तिलाई रोक्न यसअघि सचिवस्तरको निर्णयबाट १७ बुँदे कार्यविधि जारी भएको थियो । तर, उक्त कार्यविधिले दलाललाई चलखेल गर्न मलजल पुर्याएका र जसले गर्दा विमानस्थलको प्रणालीमा नै प्रश्न चिन्ह खडा गरेको हमालको भनाई छ ।
कार्यविधि जारी भएलगत्तै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, भिजिट तथा पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने यात्रुहरूलाई प्रस्थान अनुमति दिने प्रकृयालाई सरल बनाइएको छ छ । यस अघि मिति २०७८ फागुन २५ मा जारी भएको नेपाल सरकार (सचिवस्तर) को निर्णय नेपाल सरकार (मा.उपप्रधान तथा गृहमन्त्रीस्तर)बाट खारेज भई नयाँ ६ बुँदे कार्यविधि जारी भएको छ । यसर्थ घुम्ने र परिवार भेट्न जाने यात्रुहरुले सेटिङको नाममा कुनै पनि विचौलियाहरूलाई रकम बुझाएर विदेश यात्रा नगर्नु हुन र भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्नु हुन सबैमा अनुरोध छ । भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नु अघि अनिवार्य रुपमा नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्नु हुन अनुरोध छ ।’
यस्तो छ नयाँ कार्यविधि
१) ६ महिनाको वैध अवधि भएको राहदानी।
२) गन्तव्य देशको प्रवेषाज्ञा (VISA) वा On Arrival Visa प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने।
३) दुईतर्फी हवाई टिकट।
४) भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र।
५) भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेविट/क्रेडिट कार्ड)।
६) संयुक्त अरब इमिरेटस्, बहराईन, कुवेत, कतार, ओमन र साउदी अरेवियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा गर्नुपर्नेछ। स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार (Burden of Proof) सम्बन्धित व्यक्तिमा रहने छ। स्वघोषणाको ढाँचा विभागले निर्धारण गरेबमोजिम हुनेछ।