काठमाडौं– सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।
सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
प्रयोगकर्ताको गुनासो सुनुवाइलाई सहज बनाउन मन्त्रालयले निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाइ स्थापना गरेको छ ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्थापन इकाइ स्थापना गरेर अनलाइन गुनासो लिन सुरु गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव इकाइका संयोजक रमेश पाण्डेयले जानकारी दिए ।
प्राप्त गुनासोहरुको अध्ययन गरेर साइबर अपराधसँग सम्बन्धित भए प्रहरीमा लेखी पठाउने र सामाजिक सञ्जाल प्लेटफर्मले समाधान गर्नुपर्ने विषय भए सम्बन्धित प्लेटफर्मको सम्पर्क व्यक्तिलाई लेखी पठाउने उनले बताए ।
सरकारले गत मंसिर ११ गते निर्देशिका जारी गर्दै नेपालमा सामाजिक सञ्जालको रुपमा सञ्जालनमा रहेका सबै प्लटेफर्महरुलाई तीन महिनाभित्र सूचीकरण गर्न सूचित गरेको थियो ।
सामाजिक सञ्जाल प्लेटफर्म जुनसुकै देशबाट सञ्चालन भएको भए पनि नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।
प्लेटफर्मले तोकेका सम्पर्क व्यक्तिमार्फत प्रयोगकर्ताको गुनासो सम्बन्धित प्लेटफर्ममा पठाइने बताइएको छ ।