सिरहा– कमला सिँचाइ व्यवस्थापन कार्यालय, धनुषाले विकासको काममा स्थानीय जनप्रतिनिधिले नै अवरोध गरेका छन्।
सिरहाको पूर्वी नहर प्रणालीअन्तर्गत विष्णुपुर गाउँपालिका-१, बजार क्षेत्रमा कार्यालयले गरिरहेको काममा गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले अनावश्यक बखेडा झिकेर काममा भाजो हाल्ने काम गरेका हुन् ।
नहर किनारअन्तर्गत भोलाबाबा स्थान र बजरङ्गबली मन्दिरसम्मको एक किलो चारसय ५० मिटर बाटो ग्राभेलीङ्ग कार्य ठेकेदारमार्फत डिजाइन स्टिमेट अनुसार नै भइरहेको काममा गाउँपालिका अध्यक्षले अवरुद्ध गरेका हुन् ।
कार्यालय प्रमुख वीरेन्द्र यादवले भने, ‘अहिले काम भइरहेको छ। हामीले कामको नाप जाँच पनि गरिरहेका छौ। काम सकिएपछि डिजाइन, स्टिमेट अनुसार काम भएको हेरेर सल्लाह दिँदा राम्रो हुन्छ।’
प्रमुख यादवले काममा रहेका कर्मचारी माथि विना कारण अभद्र व्यवहार गर्ने र विकास निर्माण कार्यमा जनप्रतिनिधिले नै हस्तक्षेप गर्नु निन्दनीय भएको बताए । उनले काममा भाँजो हाल्ने काम नगर्न पनि जनप्रतिनिधीहरुसँग आग्रह गरे । प्रमुख यादवले आफ्ना साइड शव इन्जिनियर विद्यानन्द साहमाथि दुर्व्यवहार भएको बताए।
कार्यालय १२ लाखको लागतमा एक हजार चारसय ५० मिटर लम्बाई, चार मिटर चौडाइ र १५ सेन्टिमिटर मोटो ग्राभेल बिछ्याउने कार्य भइरहेको छ । कार्यालयले डिजाइन स्टिमेट अनुसार गुणस्तरीय काम भइरहेको बताएको छ। प्रयोग भएको ग्राभेल ल्यावटेष्टबाट पास भएको कार्यकालको दाबी रहेको छ।
विष्णुपुर गाउँपालिकाको अध्यक्ष यादव र वडा न १ का वडाध्यक्ष भोगेन्द्र यादव निर्माण स्थलमै पुगेर अवरुद्ध सृजना गरेको स्थानीय बताउँछन्। यस विषयमा बुझ्न पालिका अध्यक्ष यादवलाई फोन सम्पर्क गर्दा उनको फोन उठेन ।
वडा नम्बर १ का वडाध्यक्ष यादवले भने कर्मचारीसँग सामान्य विवाद भए पनि आफूले आयोजना अवरुद्ध नगरेको बताए । उनले आफूले पटक पटक योजनाको डिजाई, स्टिमेट माग्दा नदिएपछि केही भनाभन भएको र सोही क्रममा आवेगमा औँला नउठाउन भन्दै रोकेको बताए ।
वडा अध्यक्ष यादवले भने, ‘जसले काम गरेको भए पनि हामीले नै उपभोग गर्ने हो। काम राम्रो होस भनेर परियोजनाको जानकारी माग्दा कर्मचारीले आफूसँग अप्रिय शब्द बोलेपछि सामान्य विवाद भएको हो। काम अवरुद्ध गर्ने, दुःख दिने कुनै मनसाय होइन, छैन।’
साइड सवइन्जिनियर साहले आफूमाथि दुर्व्यवहार भएको जानकारी दिए । उनले भने, ‘पालिका अध्यक्ष र वडाध्यक्ष सहित वहाँहरू धेरै जना हुनुहुन्थ्यो, मैले सबैको प्रश्नको जवाफ दिने प्रयास गरिरहेको थिएँ। त्यस बेला म माथि गाली लगेज र दुर्व्यवहार भए।’
स्थानीय ६१ वर्षीय दुखिया यादवले गाउँ पालिकालाई खाल्डो पुर्न पटक–पटक अनुरोध गर्दा कमला सिँचाइ व्यवस्थापन कार्यालयको काम हो भन्दै पन्छिने अहिले आएर विकास निर्माण कार्य भइरहेको अवस्थामा विना कारण पालिका अध्यक्षले अनावश्यक बखेडा गर्नुले ठेकेदार सँगको बार्गेनिङ नमिलेपछि विरोध गरेको आशङ्का उब्जाएको उनको भनाइ छ । उनले आफू पनि नगर्ने अरूलाई पनि गर्न नदिने जनप्रतिनिधिको परिपाटी ठिक नभएको बताए।
त्यसै गरी अर्का स्थानीय इन्द्रदेव यादवले ग्राभेलको काम भइरहेको बेला विना कारण पालिका अध्यक्ष र वडाध्यक्षले काम अवरुद्ध गरेको बताए। पहिले अध्यक्षले नै सबै कामहरू उपभोक्ता समितिमार्फत काम गराउने गरेका थिए । अहिले कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले ठेक्का लगाएपछि उपभोक्तामार्फत काम गर्न पल्केकाहरू अहिले अवरोध सृजना गर्ने गरेको स्थानीयहरू बताउँछन्।