सिन्धुपाल्चोक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् ।
बुधबार पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताए ।

तस्बिर : बालकाेट
उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए । अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको बताए ।
एमालेलाई छेक्न ८ वटा राजनीतिक दलहरु लागेको उनले बताए । उनले गठबन्धनका दलहरुबाट देश बनाउने कुरा भन्दा गठबन्धन बनाउने र जोगाउने कुरा मात्तै बढी सुनिएको बताए ।
उनले भने, ‘हामी सरकारमा जाने हतार गर्दैनौँ । अब यिनीहरुले गर्न सकेनन् भने त हामीले फेरि उठ्न त परिहाल्छ । तर हामी मिसन ०८४ भनेर ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्छ । हरेक ठाउँ जित्नेगरी एमालेको तयारी हुनुपर्छ । सरकारमा हुने गठबन्धनेहरुलाई पनि भनिरहेको छु मैले । गम्भीर हुनुपर्ने अवस्था छ । यदि गम्भीर भएन भने देश बरबाद हुन्छ ।’

तस्बिर : बालकाेट
अध्यक्ष ओलीले विकासको काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गरे ।
योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उनले सुझाव दिए । अहिले गठबन्धनले क्षमता हरेर नभई गठबन्धने हो कि होइन भनेर जिम्मेवारी दिने गरेको उनले आरोप लगाए ।
ओलीले मुख्यरूपमा कृषिलाई आधुनिकीकरण गरेर नै समृद्ध नेपाल बनाउन सकिने बताए ।