गोरखा– धार्चे गाउँपालिकामा ऐतिहासिक तातोपानी मेला-२०८० सुरु भएको छ ।
गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले एक कार्यक्रमका बिच मेलाको उद्घाटन गरिन् । मेला २०२८ सालदेखि मनाउन थालिएको हो । मेलाको आयोजक तातोपानी क्षेत्र संरक्षण तथा सम्र्बद्धन विकास केन्द्र रहेको छ ।
धार्चेको स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले मेला सञ्चालन गरिएको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहने छ ।
मेलामा भलिबल प्रतियोगिता, दौड प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, नृत्य प्रतियोगिता,यसै वर्षबाट महिलातर्फको भलिबल प्रतियोगिता पनि हुनेछ । भलिबल प्रतियोगितामा करिब २० टिमहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
पुरुषतर्फको भलिबलमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७५ हजार, ५५ हजार र ४० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
महिलातर्फको भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले भने क्रमशः २० हजार, १५ हजार र १० हजारसहित ट्रली, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
मेलामा गोरखाको बारपाक, लाप्राक, गुम्दा, सिर्दिबास, लाँपु, करौँजा, काशीगाउँलगायत ठाउँहरूका स्थानीयका साथै देशका विभिन्न जिल्लाका मानिसहरूले मेला अवलोकन गर्ने विश्वास गरिएको छ ।
देशभरका मानिस मेलामा सहभागी हुने आयोजकले जनाएको छ ।