काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन्।
राजर्षि जनक विश्वविद्यालयको सातौँ सभालाई सम्बोधन गर्दै प्रचण्डले साधन स्रोतको परिचालन गरेर विद्यार्थी पलायन रोक्न सकिने बताएका हुन्।
योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उनले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने बताए।
प्रचण्डले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको बताएका छन्। विश्वविद्यालयहरूको नीति, पाठ्यक्रम, शिक्षा विधिमा सुधार गर्नुपर्ने उनको भनाइ छ।
‘नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्छ, मेरो अपेक्षा त्यही छ,’ उनले भने।
उनले आफ्नो कार्यकालमा विश्वविद्यालयको प्राज्ञिक सुधारमा जोड हुने बताए।
‘वर्तमान नेतृत्वले विश्वविद्यालयको गरिमा र प्राज्ञिक छवि निर्माणका निम्ति अनवरत पहल लिएको छ,’ प्रचण्डले भने।