नवलपुरमा– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सजिलै पद छाड्नेमा आशंका व्यक्त गरेका छन्।
बिहीबार नवलपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले प्रचण्ड समझदारी पालना नगर्ने व्यक्ति भएको बताए।
उनले भने, ‘प्रचण्डजी अत्यन्त सुर मान्छे हुनुहुँदोरहेछ। म्यानुपुलेटिभ। उहाँले चाहिने प्रधानमन्त्री पद छोड्नुहुन्न।’
उनले थपे, ‘सजिलरी छोड्नुहुन्न।’ पूर्व समझदारीअनुसार प्रचण्डपछि माधवकुमार नेपाल र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुपर्ने उनले बताए। उनले सरकारको कामकारबाहीप्रति पनि असन्तुष्टि जनाए।
एक फरक प्रसंगमा उनले पार्टीको आसन्न महासमिति बैठकमा संघीयता र धर्मनिरपेक्षताको विषयमा छलफल हुने बताए।
उनले धर्मनिरपेक्ष शब्द हटाउनुपर्ने सुझाव पनि दिए। धर्मको बारेमा अघिल्लो महासमिति बैठकमै ७०० जनाले लिखित रुपमा दिएको स्मरण गर्दै उनले भने, ‘धर्म न निरपेक्ष हुन्छ, न सापेक्ष।’