काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैंकप्रति आक्रामकरुपमा प्रस्तुत भएका छन्। उनले ऋणको ब्याजदर आफूखुशी बढाएर ऋणीलाई अनावश्यकरुपमा भार बढाउने गरेको भन्दै बैंकमाथि आक्रोश पोखेका हुन्।
उनले बैंकमाथि आक्रोश पोखिरहँदा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ पनि सँगै थिए। एमाले निकट बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको महाधिवेशन उद्घाटनका क्रममा ओलीले बैंकमाथि आवश्यक नै नहुने हुने खानेलाई विना धितो ऋण दिने गरेको र जरुरी पर्ने साना लगानीकर्तालाई धितोमा कस्ने गरेको आरोप लगाए।
‘बैंकले हुनेखाने जसलाई चाहिएको छैन उसलाई विनाधितो ऋण दिन्छ। तर, जसलाई साँच्चै चाहिएको छ, सानो पुँजीबाट केही गरौं भन्ने प्रयास गर्छ उसले पाउँदैन। बैंकले मुटु कलेजो जस्तो जमिन धितो राख्छ,’ उनले भने।
उनले बैंकमाथि आफूले दिएको ऋण सदुपयोग भए/ नभएको अनुगमन गर्ने नगरेको आरोप लगाए। ‘बैंकले ऋण सदुपयोग भयो कि भएन हेर्दैन। धितो भएका कारण मतलव गर्दैन,’ उनले भने, ‘धितो लिलाम गरेर ऋण असुल गर्नु मात्र बैंकको काम होइन। ऋण लगानी गरेपछि अनुगमन गर्नुपर्छ। सदुपयोग भए नभएको हेर्नुपर्छ।’
उनले महँगो ब्याजदर लिएको पुष्ट्याइँका लागि पनि अनुगमन जरुरी रहेको बताए। ‘नत्र ऋणको त्यत्रो विधि ब्याज किन राखेको?,’ उनले भने, ‘बैंकले पैसा त सस्तो ब्याजमै पाएको हुन्छ। हामीसँग र राष्ट्र बैंकसँग सस्तोमै लिएको हुन्छ।’
ओलीले बैंकले एकतर्फीरुपमा ऋणको ब्याजर बढाउन नपाउने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए। बैंकले आफ्नो फाइदाका लागि एकतर्फीरुपमा ऋणको ब्याजदर बढाएर ऋणीलाई मर्कामा पार्ने काम गरिरहेको बताए।
‘९ प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्न जाँदा ब्याजदर १४ प्रतिशत पुर्याइसकेको हुन्छ। खल्तीमा बोकेको त के झोलामा बोकेको पैसाले पनि नपुग्ने खालको हुन्छ बैंकको हिसाब,’ उनले भने, ‘बैंकले गरेको अर्को के ठिक देखिंदैन भने ऋणको ब्याज घटबढ गर्न सकिने भनिएको हुन्छ सम्झौतामा। तर, कहिल्यै घटाउने कुरा हुँदैन। त्यसैले द्विपक्षीय सहमतिविना ब्याजदर घटबढ गर्न नपाइने व्यवस्था गर्नुपर्छ। बैंकले एकतर्फी रुपमा बढाउन पाईंदैन।’