हेटौडा– सामाजिक सुरक्षाभत्ता बापतको रकम मकवानपुरगढी गाउँपालिकाले वडाबाट वितरण गरेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन् ।
गाउँपालिकाका ८ वटै वडाहरू मध्ये पहिलो चरणको भत्ता वितरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा नम्बर-८, मा गत माघ- ४ गते र वडा नम्बर- १ मा वडा स्तरबाट भत्ता वितरणको काम सम्पन्न भइसकेको पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान बताए ।
वडा नम्बर- १ मा घुम्ती शिविरमार्फत पालिका अध्यक्ष स्याङ्तान र वडाध्यक्ष आइत सिंह लोले सामाजिक सुरक्षाभत्ता वितरण गरेका हुन् ।
वडा स्तरीय सामाजिक सुरक्षाभत्ता वितरण कार्यक्रममार्फत २०३ जना लाभग्राही मध्ये १८३ जनाले सामाजिक सुरक्षाभत्ता रकम बुझेको पञ्जीकरण शाखा प्रमुख रघुनाथ हुमागाईँले बताए ।
हेटौँडा उपमहानगरपालिकासँग जोडिएको नजिकको पालिका भए पनि पालिकाका केही वडाहरू विकट र दुर्गममा रहेकाले बैंकमार्फत् वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्न लागेको पालिकाले जनाएको छ ।
वडाबाट बैंकमा भत्ता लिन पालिकासम्म आउन जान निकै कठिन हुने गरेको र झन् धेरै मोटर भाडा लाग्ने गरेकोले अब आफूहरूले वडा वडाबाटै भत्ता बुझ्न पाएपछि वडा नम्बर-१ का लाभाग्राहिहरुको मुहारमा खुसी झल्किएको छ ।
पालिकासँगै रहेको बैंकमा घण्टौँसम्म लाइन लागेर वृद्धा भत्ता बुझ्न आएका- १ नम्बरका पूर्व वडाध्यक्ष मानबहादुर घिसिङ आर्थिक वर्षको दोस्रो त्रैमासिक भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित भएको बताए ।