काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि काम नगरेको आरोप लगाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको ध्यान ‘स्टन्ट’ गर्नमा मात्रै भएको एमालेले टिप्पणी गरेको हो।
एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधि सभाको बुधबारको बैठकमा सरकार जवाफदेही नबनेको आरोप लगाए।
‘स्टन्ट गर्न सरकार लागेको छ, कारवाहीको दायरामा ल्याउनगरी काम गरिरहेको छैन,’ उनले भने।
सरकारले रेमिटेन्सका कारण अर्थतन्त्रमा सुधार आएको दाबी गरेको भन्दै रेमिटेन्सले देश चलाउनु गलत भएको उनको भनाइ छ। देशभित्रै रोजगारी सिर्जना गर्ने वातावरण नबनाएसम्म राजनीतिबाट सेवा गरेको नमानिने उनले बताए।
‘देशभित्र रोजगारी नपाएका कारणले नेपालीहरु बाध्य भएर विदेश जानुपरेको छ। रेमिटेन्सको विषय कुनै ठूलो कुरा होइन। देशभित्रका मेडिकल कलेज बन्द गर्ने अनि नेपाली विद्यार्थी पढ्न विदेश जानुपर्ने,’ गिरीले भने।
सरकार नै भ्रष्टाचार र तस्करी काण्डमा मुछिएको एमालेको आरोप छ। अहिले व्यवस्थाप्रति वितृष्णा बढ्नुको कारण सरकार नै भएको गिरीको भनाइ छ।
‘भ्रष्टाचार र तस्करी काण्डमा सरकार लागेको छ, त्यसले सरकारप्रति मात्रै होइन व्यवस्थाप्रति वितृष्णा बढेको छ,’ उनले भने।
उनले एमाले नेतृत्वको सरकारले अघि बढाएका कार्यक्रमहरु अहिले अलपत्र पारिएको भन्दै सरकारको आलोचना गरेका छन्।