काठमाडौं– गोरखा घरभइ काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज भएको अधिवेशनले पत्रकार प्रदीपराज वन्तको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोबिता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन् ।
यस्तै, सुदिप कैनी, लीलाधर कोइराला, राधा रोकाहा, उत्सव वि.क तथा मोहसिन अलि मिया कार्यसमिति सदस्य चयन भएका छन् । आजको अधिवेशनले सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिए ।
नव निर्वाचित कार्यसमितिको आजै बसेको बैठकले पत्रकारहरू रामजी दाहाल, खिलबहादुर भण्डारी तथा सुशील अर्याललाई पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
यस्तै आजको बैठकले गोर्खाली पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि गम्भीर रूपमा लाग्ने तथा गोरखाका सुन्दर पर्यटकीय क्षेत्रहरूको उजागर गर्नको लागि मद्दत गर्ने निर्णय पनि गरेको छ ।
यसअघि कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पत्रकार दाहालले एकताबद्ध भएर काम गर्न सके संस्थाले गोर्खाका पत्रकारहरूको लागि धेरै योगदान पु¥याउन सक्ने धारणा राखे । यस्तै उनले अबको समय पत्रकारिताको मात्रै नभएर खोज पत्रकारिताको भएको भन्दै अध्ययनशील बन्न पत्रकारहरूलाई सुझाव दिए ।
अर्का पत्रकार सुशील अर्यालले गोर्खाली पत्रकारहरूले गोरखाका ऐतिहासिक, सांस्कृतिक पहिचान स्थापित हुने खालका समाचारहरू खोज्ने तथा लेख्नुपर्नेमा जोड दिए ।
गोरखाका अग्रज पत्रकारहरू बद्री पोखरेल, भरत ढकाल, विवेक रेग्मी, अमृत दाहाललगायतले गोरखाको समग्र विकास र गोरखाका पत्रकारहरूको क्षमता अभिवृद्धिमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष वन्तले गोरखामा रहेका तथा काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका सबै पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नमा आफूले सक्दो कोसिस गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले कुनै पनि दल तथा वैचारिक बिचारधारमा विभाजित नभई गोरखा र गोरखाको पत्रकारिताको विकासका खातिर जुटेर लागिरहने बचन दिँदै एक भएर अघि बढ्न सबैलाई आह्वान गरे ।
गोरखा पत्रकार समाज गोरखाबाट काठमाडौँ आएर विभिन्न सञ्चार माध्यममा आबद्ध भई पत्रकारिता गरिरहेकाहरूको संस्था हो । संस्था २०७७ सालमा दर्ता भएर क्रियाशील रूपमा अघि बढिरहेको छ ।