गोरखा– अजिरकोट गाउँपालिकाले ‘जनयुद्ध दिवस’ मा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको ११२औं बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सूचना जारी गर्दै गाउँपालिकाले भनेको छ, ‘आइतबारको कार्यपालिका बैठकले अजिरकोट गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बिदा दिने भनि निर्णय गरेकोले सोही बमोजिम अजिरकोट गाउँपालिका भित्र फागुन १ गते सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’
सर्वोच्च अदालतले फागुन १ मा ‘जनयुद्ध दिवस’का अवसरमा भनेर दिएको बिदालाई असंवैधानिक ठहर गरेको थियो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा उक्त बिदा किन असंवैधानिक हो भन्ने उल्लेख छ।
गण्डकी गाउँपालिकाले पनि आज एक सार्वजनिक सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा पालिका भित्र सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाद्धारा हस्ताक्षरीत सूचनामा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका गर्न ०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धको सम्मान र स्मरणका लागि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ । सार्वजनिक विदाका दिन गाउँपालिका कार्यालय र गाउँपालिका मातहतका कार्यालयहरु बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।’
त्यस्तै, भीमसेन थापा गाउँपालिकाले पनि आफ्नो बार्षिक क्यालेन्डरमा नै जनयुद्ध दिवसका दिन सार्वजनिक विदा उल्लेख गरेकाले फागुन १ गते जनयुद्ध दिवसका दिन पालिका भित्र सार्वजनिक विदा भएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
उनले संघ सरकारले जनयुद्ध दिवसका दिन दिएको विदा फिर्ता लिएको भएपनि गाउँपालिकाले विदा फिर्ता नलिएको बताए ।
माओवादीले रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको थियो ।