रौतहट– गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोककुमार खाँ थारु र भू-माफियाको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भइसकेको जग्गा पुनः अर्कैको नाममा दर्ता गर्न सुरु गरेका छन् ।
वडाको नक्सालाई डिजिटल प्रणालीमा लैजाने क्रममा व्यक्तिको नाममा दर्ता भइसकेको जग्गा पुनः अर्कैको नाममा दर्ता गर्ने कार्यमा वडाध्यक्ष थारु, फिल्डमा खटिएका सरकारी कर्मचारी र भू माफियाको सहभागिता देखिएको हो ।
फिल्ड बुकमा दर्ता भइसकेको र पटक पटक सर्वोच्च अदालतले गरेको निर्णय विपरीत वडाध्यक्ष थारुले भोटका लागि अर्कैको नाममा दर्ता भएको जग्गा पुनः दोस्रो व्यक्तिको नाममा देखिने गरी डिजिटल प्रणालीमा राख्न थालेको पीडित गणेशबहादुर योन्जनले जानकारी दिए ।
विवादित जग्गालाई आर्थिक चलखेल तथा आगामी निर्वाचनमा भोट सुरक्षित गर्ने उद्देश्यसहित सर्वोच्च अदालतको निर्णय र प्रचलित कानुन विपरीत दर्ताका लागि वडाध्यक्ष थारुले सिफारिस दिन थालेको उनले बताए ।
गत वर्षको स्थानीय तहको निर्वाचनका बेला आफूलाई भोट दिए जग्गा दर्ता गरिदिने बताएका वडाध्यक्ष थारुले अहिले सोही वाचा पूरा गर्न थालेका हुन् । तर, यसमा आर्थिक चलखेल पनि रहेको स्थानीय बताउँछन् ।
०६२ असार २४ गते रिट नम्बर ४१६५ को मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश अनुपराज शर्मा र बद्रीकुमार बस्नेतको संयुक्त इजलास र ०८० भदौ २१ गते रिट नम्बर ०१–०७१–०३२२५ को मुद्दामा सर्वोच्च अदालतकै न्यायाधीश आनन्द मोहन भट्टराई र मनोजकुमार शर्माले दिएको आदेश र निर्णय विपरीत वडाध्यक्ष थारुले सिफारिस दिएर अख्तियार दुरुपयोग मात्र गरेका छैनन्, आर्थिक लेनदेन गरेको आशंका समेत गरिएको छ ।
राजनीतिक र आर्थिक स्वार्थ पूरा गर्न जनप्रतिनिधि नै सक्रिय भएपछि पीडितले थप पीडाको महसुस गरेका छन् । ‘जनप्रतिनिधिले सर्वोच्च अदालतको आदेश र फैसला तथा कानुनअनुसार काम गर्नुपर्नेमा भू-माफियासँग मिलेर सिफारिस दिन थालेका छन्,’ पीडित योन्जनले भने, ‘अब उनीहरूविरुद्ध हामी अख्तियारमा र न्यायालयमा जाने तयारीमा छौँ ।’
उक्त जग्गाका विषयमा जानकार रहेका वडाध्यक्ष थारुले कानुन विपरीत सिफारिस दिनु नै सर्वोच्च अदालतलाई समेत नटरेको देखिन्छ ।
वडाध्यक्ष थारुको रोहबरमा गुजरा नगरपालिका–२ को जग्गा डिजिटल प्रणालीमा अद्यावधिक गर्ने कार्य भइरहेको फिल्डमा खटिएका नापीका एक कर्मचारीले नाम उल्लेख नगर्न सर्तमा जानकारी दिए ।
जग्गाको अवस्थाबारे जानकारी भए पनि वडाध्यक्ष थारुसहितको दबाबमा काम गर्नुपरेको उनको गुनासो छ ।