काठमाडौं– गृह मन्त्रालयले १ फागुनका लागि तय गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ ।
१ फागुनको सार्वजनिक बिदाबारे आममानिसमा अन्योल भइरहेका बेला सोमबार गृह मन्त्रालयले उक्त दिनको बिदा कायम नरहेको स्पष्ट पारेको छ ।
सरकारले १ फागुनमा जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने निर्णय गरे पनि उक्त निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि बिदा कायम नरहेको हो ।
‘सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल मन्त्रिपरिषद्को मिति २०८०÷१०÷२५ को बैठकको निर्णयअनुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९÷१२÷०२) मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको ब्यहोरा सम्बद्ध सबैको जानकारीका लागि अनुरोध छ,’ सोमबार गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।