रौतहट- स्थानीय फतुवाविजयपुर नगरपालिकामा भ्रष्टाचार बढेको भन्दै आम जनता पार्टीका नगर अध्यक्ष विजय यादवले १० बुँदे ज्ञापन पत्र बुझाएका छन् । मेयरका प्रत्याशी समेत रहेका यादवले मेयर अम्ब्या खातुन र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलाई सोमवार १० बुँदे ज्ञापन पत्र बुझाएका हुन्।
‘देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजीवन कष्टकर बन्दै गएको र आर्थिक संकटबाट सबै भन्दा बढी हाम्रो नगरपालिका प्रभावित भएको छ। नगरपालिकामा आर्थिक उत्पादनको श्रोत साधन सीमित रहेको, परम्परागत खेती प्रणालीमा आश्रित कृषि रहेको, व्यापार व्यवसाय सुक्दै गएको, बेरोजगार गुणात्मक ढंगले बढिरहेको तथा मजदुरहरू बाध्य भएर कष्टकर वैदेशिक रोजगारबाट जीवनयापन गर्नु परेको अवस्था छ । यस्तो संकटपूर्ण अवस्थामा जनता माथि अनावश्यक करको भार थुपार्ने र जनताको खुन पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठ्ठीभर निर्वाचित जनप्रतिनिधिहरू आफू खुसी भागबन्डा गरी चाट्ने कार्यले नगरको विकास सम्भव छैन’, ज्ञापन पत्रमा उल्लेख छ।
जनताको पिर मार्कामा राज्यको विभिन्न निकाय र तहहरूद्वारा सहयोग गर्नुको साटाे कर आतङ्क खडा गरिएको यादवकाे दावी छ । जनताको आम्दानीमा कर लिने तर उत्पादन नोक्सान हुँदा वा घाटामा पर्दा हेर्न समेत नआउने उल्टै समयमा कर नतिर्दा सजायको भागीदार बनाउने जस्ता जनविरोधी कार्य खुलेआम भइरहेको छ । यो नगरपालिकाले समेत जन्मदर्ता देखि मृत्यु दर्तासम्म समेत कर लगाउने, कर संकलन तथा सदुपयोग नगर्ने, आन्तरिक राजस्वलाई समेत पारदर्शी नबनाउने जस्ता कार्य गरिरहेको उल्लेख गरिएको छ ।
‘यस्ता गलत कार्यहरू पुनः हुन न दिन र जनताका आधारभूत समस्या समयमा समाधान गर्न तथा यस नगरपालिका प्रति आमजनताको विश्वसनीयता अभिवृद्धि गर्न निम्न मागहरू सहित यो ज्ञापन पत्र पेस गरेका छौँ’, मेयर प्रत्याशी विजय यादवले भने।
‘नगरपालिकाले शून्य कर नीति लागू गरोस् अर्थात् जनताबाट उठाउने प्रत्येक कर माफ होस् । नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण जनताको बिजुली र पानी महसुल फ्री होस् । यस नगरपालिकामा भइरहेको सम्पूर्ण भागबन्डा बन्द होस् । उपभोक्तालाई नेपाल विद्युत् प्राधिकरणले नगरपालिकाले समयमा पैसा न तिर्दा आम नागरिकको लाइनको समस्या समाधान गरियोस्। सेफ्टी ट्याङ्की सरसफाइ निःशुल्क होस, मालपोतको कर निःशुल्क होस, शिक्षक, कर्मचारी र सामाजिक सुरक्षा भत्ता वितरण कार्य समयमा गरियोस्, नगर भरीको सम्पूर्ण सुकुम्वासीको समस्या चाडै समाधान गरियोस्,नगर भरीका सम्पूर्ण अस्पतालमा औषधी आपृती गरियोस्,सिँचाइको व्यवस्था प्रत्येक वडामा अनिवार्य हुनुपर्ने , हाम्रा मागहरू प्रति बेवास्ता गरिएमा हामी चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौ,’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ।