काठमाडौं– नेपाल टेलिकमको खुद नाफा ३२ करोड ३३ लाख रुपैयाँले घटेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण मंगलबार प्रकाशित गर्दै कम्पनीले आफ्नो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.६ प्रतिशतले घटेको जनाएको छ। गत आवको सोही अवधिमा (२०७९ पुस) कम्पनीको नाफा ४ अर्ब २५ करोड रुपैयाँ थियो।
यस्तै, कम्पनीको आम्दानी करिब ८० करोड रुपैयाँ (३.५८ प्रतिशत) ले घटेको छ। २०८० पुससम्म २१ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको जनाएको छ। गत आवको सोही अवधिमा टेलिकमको आय २२ अर्ब १० करोड रुपैयाँ थियो। चालु वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको कुल सञ्चालन आय १७ अर्ब २४ करोड रुपैयाँ छ। गत वर्षको सोही अवधिको तुलनामा सञ्चालन आय ४.५९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन आय १८ अर्ब ७ करोड रुपैयाँ थियो।
चालु वर्षको दोस्रो त्रैमासमा कम्पनीको प्रति सेयर आम्दानी ४३.६८ रुपैयाँ छ।
टेलिकमका अनुसार ओभर द टप (ओटीटी) सेवा जस्तै: मेसेन्जर, ह्वाट्स एप, भाइबरलगायतको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा धक्का पुगेको जनाएको छ। गत आवको दोस्रो त्रैमासिक अवधिको तुलनामा अन्तरआबद्धता आम्दानी ५२ करोड ९२ लाख रुपैयाँले घटेको वित्तीय विवरणमा उल्लेख छ।
यस्तै, मौसमको प्रतिकूल असरले विद्युत आपूर्ति तथा मर्म सम्भारको काम छिटो नसकिंदा साइट समयमा संचालन गर्न नसकेकाले आम्दानीमा असर परेको टेलिकमको दाबी छ। टेलिकमले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको काम गरिरहेकाले खर्च बढ्दै गएको जनाएको छ।
टेलिकमले सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती हुँदा राजस्वमा प्रतिकुल असर परेको जनाएको छ। यस्तै, बैंक ब्याजदरमा भइरहेको परिवर्तनले वित्तीय आम्दानी करिब ३४ करोड ७ लाखले घटेको देखिन्छ।