काठमाडौं- आज फागुन १ गते। तत्कालिन माओवादीले नेपालमा जनयुद्ध सुरु गरेको दिन। हाल केन्द्र सरकारमा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र र उसका भातृ संगठनले आज विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउँदै छन्।
सर्वोच्च अदालतको निर्णयअनुसार जनयुद्ध दिवसका अवसरमा सरकारले भने आज सार्वजनिक बिदा दिएको छैन।
देशका कतिपय स्थानीय तहले भने आज सूचना जारी गरेर जनयुद्ध दिवसको बिदा दिएका छन्। यसै सन्दर्भमा धादिङको गजुरी गाउँपालिकामा भने जनयुद्ध दिवसमा बिदा हुने कि नहुने भन्नेमा अध्यक्ष र उपाध्यक्षबीच जुहारी चलेको छ।
गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जनयुद्ध दिवसको अवसरमा आज (फागुन १ गते) सार्वजनिक बिदा दिने निर्णय गाउँपालिकाले गरेको भन्दै सूचना जारी गरेपछि उपाध्यक्ष शर्मिला बिसुरालले त्यसको प्रतिवाद गरेकी छन्।
अध्यक्ष श्रेष्ठले सोमबार जारी गरेको सूचनामा गाउँपालिकाको निर्णयअनुसार पालिका अन्तर्गतका सबै सरकारी कार्यालय, विद्यालय तथा संघ संस्थामा फागुन १ गते बिदा हुने उल्लेख छ।
अध्यक्षको बिदा सम्बन्धी सूचना आएलगत्तै उपाध्यक्ष बिसुरालले त्यसको प्रतिवादमा अर्को सूचना जारी गरेकी छन्। जसमा आज बिदा नरहेको उल्लेख छ।
‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ साल फागुन १ गतेदेखि सञ्चालित महान जनयुद्धको स्मरण र सम्मान गर्दै मिति २०८० फागुन १ गते गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय तथा संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको छ,’ अध्यक्ष श्रेष्ठले जारी गरेको सूचनामा भनिएको छ।
अध्यक्षले बिदा दिएको सूचना जारी गरे लगत्तै उपाध्यक्ष बिसुरालले अर्को सूचना जारी गरेकी छन्। जसमा फागुन १ गते बिदा दिनेबारे गाउँपालिका बैठकमा कुनै छलफल वा निर्णय नै नभएको उल्लेख छ।
बिसुरालले जारी गरेको सूचनामा भनिएको छ, ‘सर्वोच्च अदालतबाट पनि फागुन १ गते सार्वजनिक बिदा दिन नमिल्ने फैसला भइसकेकोले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका सबै खालका राजनैतिक आन्दोलन र स्थापित राजनैतिक मूल्य मान्यतालाई पूर्णरुपमा सम्मान गर्दै जनताद्वारा निर्वाचित संविधान सभाले बनाएको वर्तमान संविधानमा कानुन भन्दा माथि कोही नरहेको र कानुनको पूर्ण पालना गर्नु आम नागरिकको कर्तव्य रहेकोले सोही अनुरुप फागुन १ गते यस गाउँपालिका तथा मातहतका सबै सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य चौकी, वित्तिय संस्थाहरु यथावत रुपमा खोल्न, सञ्चालन गर्न सम्बन्धित सबैलाई सूचित गरिन्छ।’
अध्यक्ष र उपाध्यक्षबाट फरक-फरक सूचना आएपछि आज गजुरीमा गाउँपालिकामा बिदा हुने हो कि होइन, नागरिक भने अन्याेलमा परेका छन्।
गजुरी गाउँपालिका अध्यक्ष श्रेष्ठ माओवादी केद्रबाट निर्वाचित भएका हुन् भने बिसुराल भने कांग्रेसबाट निर्वाचित भएकी हुन्। उनीहरु दुबै गठबन्धनको बलमा निर्वाचित भएका हुन्। गाउँपालिकाका ८ मध्ये पाँच वटा वडामा माओवादी केन्द्र र तीनवटा वडामा कांग्रेस उम्मेदवार विजयी भएका थिए ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी भने अध्यक्ष उपाध्यक्षको कुरा उहाँहरूसंग नै सोध्न आग्रह गरे ।