रौतहट– लामो रस्साकस्सी पछि फतुवा विजयपुर नगरपालिकाकाे सातौँ नगरसभा सम्पन्न भएको छ।
४८ करोड भन्दा बढीको बजेट पारित गर्दै बिहीबार नगरपालिकाको सातौँ नगरसभा सम्पन्न भएको हो।
कार्यवाहक मेयर अम्बेया खातुनको अध्यक्षतामा फतुवा विजयपुरको सातौँ नगरसभा नगरपालिकाको सभाकक्षमा बिहीबार सम्पन्न भएको छ।
सातौँ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले नगरसभामा चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि कुलफतुवा ४८ करोड पाँचलाख ८८ हजार दुई सय रूपैयाको बजेट सार्वजनिक गरेका थिए।
संघीय बजेटबाट समानिकरण अनुदान, सशर्त अनुदान,पुँजीगत अनुदान, गरी जम्मा ३२ करोड ४१ लाख १२ हजार विनियोजन गरिएको छ ।
संघीय राजस्व बाँडफाँडबाट नौ करोड ८२ लाख १४ हजार २ सय, मालपोत दस्तुर बाट ३० लाख, जग्गा रजिस्ट्रेसन बाँडफाँड बाट एक करोड २० लाख, प्रदेश सरकारबाट प्राप्त हुने सवारी साधन कर बाट २५ लाख र समानीकरण अनुदान ८० लाख ६२ हजार, समपूरक अनुदान २० लाख, विशेष अनुदान ३० लाख, सशर्त पुँजीगत ८० लाख, आन्तरिक श्रोत बाट एक करोड ५० लाख र सडक बोर्ड बाट प्राप्त हुने अनुदान ४७ लाख रहेको उपसचिव प्रधानले वाचन गरेका थिए।
अधिकृत प्रधान नगर सभाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि र खानेपानी लगाएका क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताएका थिए।
सम्पन्न नगरसभामा ११ वटै वडाका अध्यक्ष सहित कार्यपालिकाको बहुमत सदस्यको उपस्थिति रहेको थियो । निलम्बित मेयर गोपाल प्रसाद यादव भने अनुपस्थित रहेका थिए। लालबकैया नदीको टेन्डरमा अख्तियार द्वारा दोषी ठहर भएर विशेष अदालतले १५ लाख जरिवाना र ३ वर्ष कैदको फैसला सुनाएको थियो।
फैसला सँगै पछि मेयर यादवको पद धरापमा परेपछि उपमेयर खातुन कार्यवाहक बनेकी थिइन्।
कार्यवाहीको जिम्मेवारी पाएपछि खातुन र कांग्रेस पार्टीबाट निर्वाचित ७ जना वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू संग सहमति नहुँदा ७ महिना ढिलो नगरसभा भएको छ।
गत असार १० गतेभित्र हुनुपर्ने नगरसभा समयमा हुन नसक्दा त्यहाँ कार्यरत ३५० भन्दा बढी शिक्षक कर्मचारी गत साउन देखि तलब पाउन सकेका छैनन्।
कांग्रेस पार्टीको टिकटबाट, मेयर, उपमेयर, ७ जना वडाध्यक्षसहित नगरपालिकामा पूर्ण बहुमत हुँदा पनि पार्टी भित्रै आन्तरिक खिचलोको कारण उनीहरू बिच सहमति हुन सकेको थिएन।
वडाध्यक्ष राजेश यादवसहितले कार्यवाहक मेयर खातुन माथि एकोहोरो गर्न खोजेको आरोप लगाएका थिए। उता मेयर खातुनले कांग्रेस नेताको इसारामा आफूलाई असफल बनाउन पटक पटक षड्यन्त्र भइरहेको बताउँदै आएकी छन्।
फतुवा विजयपुर नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति एवं प्रदेश सांसद सुनिल कुमार यादवको गृह नगर हो।