सिरहा– विगत लामो समयदेखि आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसकेका धनगढीमाई नगरपालिकाका स्थानीयहरू गाउँमै नि:शुल्क आँखाको उपचार पाएपछि हर्षित भएका छन्।
नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको साझेदारीमा पछिल्लो लामो समयदेखि आर्थिक अभावका कारणले आँखाको उपचार गराउन नसेका स्थानीयहरूले पालिकामै निःशुल्क उपचार पाएपछि हर्षित भएका हुन्।
धनगढीमाई नगरपालिकाले तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको साझेदारीमा पछिल्लो १० दिनदेखि पालिकाको प्रत्येक वडामा मोतिया विन्दु बिरामीहरूको लागी शिविर सञ्चालन गर्दा स्थानीयहरू खुसी भएका छन्।
मोतिया विन्दुका अप्रेसन (शल्यक्रिया) पछि आफ्नो दूरदृष्टिमा सुधार आएकोमा वडा नम्बर ५ जयपुरका ७३ वर्षीय बुद्धिलाल महतोले खुसी व्यक्त गरे। उनले भने, ‘उमेरसँगै मैले टाढा देख्न छोडिसकेको थिएँ। असजिलो गरी जीवन चलिरहेको थियो। शल्यक्रिया पछि अहिले म टाढा पनि देख्न सक्ने भएको छु।’
आर्थिक अभावका कारण आँखाको उपचार गर्न नपाएकी ८० वर्षीय जलेश्वर देवी कामतीले उपचार पछि ज्योति फर्केकोमा खुसी व्यक्त गरे। उनले भने, ‘राम्रोसँग देख्न छोडिसकेको भए पनि आर्थिक अभावका कारण उपचार गराउन पाई रहेको थिइन, नगरपालिकाले घरमै निःशुल्क उपचार सेवा दिएर हाम्रो आँखाको ज्योति फर्काएर राम्रो काम गरेको छ।’
धनगढीमाई नगरपालिका १० का ५७ वर्षीय लोकबहादुर मगरको आँखामा ३ वर्षअघि मोतिया विन्दुको समस्या देखिए पनि विभिन्न कारण शल्यक्रिया गराउन सकिरहेका थिएनन्। उनले भने, ‘मेरो आँखामा तीन वर्षअघि नै मोतिया विन्दुको समस्या भएको थियो। त्यस बेला शल्यक्रिया गर्ने अवस्था भएको थिएन। पछि पनि विभिन्न कारणले अस्पताल जान नपाई रहेको बेला नगरपालिकाले गाउँमै अप्रेसन सहितको निःशुल्क शिविर ल्याएपछि मेरो पनि अप्रेसन भयो। यो नगरपालिकाले व्यक्तिले फाइदा पाउने गरी शिविर आयोजना गरेर राम्रो काम गरेको छ।’
एक साताभन्दा लामो समयसम्म चलेको शिविरमा ५२४ जनाको निःशुल्क आँखा अपरेसन भएको नगरपालिकाका सामाजिक विकास शाखाका संयोजकसमेत रहेका वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश योञ्जनले जानकारी दिए। उनले भने, ‘यो पटक अत्यन्तै राम्रोसँग शिविर सम्पन्न भयो। हामीले तिलगंगा आँखा प्रतिष्ठानलाई बार्षिकरुपमा शिविर संचालन गरिदिन र नगरपालिकामा सर्किजल सेवा सहितको शाखा खोलिदिन अनुरोध गरेका छौँ।’
नगरको आफ्नै अस्पताल भए पनि शल्यक्रिया गर्न र शल्यक्रियापछि बिरामीलाई आराम गर्ने पर्याप्त ठाउँ नभएकाले धनगढीमाई १० स्थित प्रमुख प्रशासकीय भवनमा उपकरण जडान गरी आँखाका बिरामीको शल्यक्रिया गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख विश्वेश्वर प्रसाद यादवले जानकारी दिए।
यादवले प्रतिष्ठानबाट डा. इन्दिरा पौण्डेलको नेतृत्वमा चार चिकित्सक र २२ जना स्वास्थ्यकर्मी गरी २६ जना र नगरपालिकाले समेत आवश्यक प्राविधिक जनशक्ति परिचालन गरेको बताए।
शिविरमा नगरका स्वास्थ्यकर्मीहरूले आँखाको बिरामीको मधुमेह र रक्तचाप जाँच्नेबाहेक शल्यक्रियामा प्रतिष्ठानकै चिकित्सक र स्वास्थ्यकर्मीहरूको संलग्नता छ,’ भन्दै पौण्डेलले भने, ‘शिविरको अन्तिम दिन सम्ममा पाँच सय २४ सय जना बिरामीको शल्यक्रिया गरिएको छ।’
प्रतिष्ठानबाट आएका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले गत २५ माघदेखि भवानीपुर, अयोध्यानगर, फुलकहाकट्टी, हनुमाननगर स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र सर्रे अम्बास, प्राकृतिक अस्पताल र नयनपुर अस्पतालमा बुधवारसम्म आँखाका बिरामीको आँखा जाँच गरी शल्यक्रिया गरिनुपर्ने बिरामी पहिचानका लागि स्क्रिनिङ शिविर चलाएका थिए।
तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंका परियोजना अधिकृत महेश पराजुलिले प्रतिष्ठानको अन्धोपन निवारण गर्ने योजनाअनुसार यस वर्ष २४ हजार मोतिया विन्दुको शल्यक्रिया गर्ने लक्ष्य रहेको बताए। सोही योजनाअनुसार धनगढीमाई नगरपालिकाको अनुरोधमा प्रतिष्ठानले यहाँ शिविर सञ्चालन गरेको बताए।
उनले यो प्रविधिअनुसार अस्पतालमा गएर शल्यक्रिया गराउने हो भने एउटा शल्यक्रियाको अस्पतालले मात्र मात्र करिब १७ हजार रुपैयाँ लिने बताए। अति नै विश्वसनीय आफ्नै उत्पादित लेन्स र विश्वस्तको प्रविधि प्रयोग गरेर अप्रेसन भएको पनि उनले बताए।