काठमाडाैं- उत्तरी गोरखाको विभिन्न योजनामा सहयोग गरीदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुमनुब्री गाउँपालिकाले ज्ञापन पत्र बुझाएको छ । पालिका प्रमुख निमा लामा सहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर ज्ञापन पत्र बुझाएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा भौगोलिक हिसाबले जिल्लाको ३६ प्रतिशत भू-भाग ओगटेको उक्त पालिकामा सर्वसाधारणको सर्वसुलभ पहुँचको लागि पालिका केन्द्रसम्म पनि सडक निर्माण हुन नसेकेको र विकास निर्माण कार्यमा ढुवानीको कारणले लागत बढ्न गएको उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा ‘गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुब्री गाउँपालिका भौगोलिक बनावटको हिसाबले कठिन भूगोल, क्षेत्रफल गोरखाका जिल्लाको ३६ प्रतिशत भूभाग ओगटेको हिमाली क्षेत्रमा अवस्थित गाउँपालिका हो । खास गरी यातायातको सर्वसुलभ पहुँच नपुगेको र गाउँपालिका केन्द्र जोड्ने सडक समेत निर्माण नभएको र विकास निर्माणका कार्यमा ढुवानीको कारणले गर्दा अत्यधिक लागत लाग्ने र संघ तथा प्रदेशबाट प्राप्त हुने अनुदान तथा बजेटरी कार्यक्रमहरू पनि जनसंख्याको आधारमा प्राप्त हुने हुनाले एकतर्फ बजेट तथा अनुदानको आकार सानो हुने र अर्को तर्फ अत्यधिक लागतले गर्दा अनिवार्य दायित्वका विकास निर्माणका कार्यहरू समेत गर्न बजेटको अभाव रहेको’ भन्दै ‘संघिय सरकारसंग विविध योजना, कार्यक्रम तथा नीतिगत व्यवस्था गर्न’ भनिएको छ ।
पालिकाको तर्फबाट संघिय सरकार संग सिर्दिबास, न्याकफेदी, चुम्चेत हुँदै छेकम्पार डुईला भन्ज्याङ मोटरबाटो निर्माण योजनालाई अगाडी बढाउन नेपाली सेनालाई जिम्मा दिन आग्रह गरिएको छ भने बेनीघाट–आरुघाट–आरखेत–रुइला भन्ज्याङको मोटरबाटाेलाई क्रमगत बजेटमा प्राथमिकता दिन आग्रह गरिएको छ ।
पालिकाको प्रशासकीय भवन नभएको भन्दै आवश्यक बजेटको व्यवस्था गर्न, चुमनुब्री गाउँपालिका–१ को सामागाउँ र २ को ल्हो स्यालामा रहेको अव्यवस्थित बसोबासलाई जग्गा वितरण गर्न मनासलु संरक्षण क्षेत्र पर्ने भएका कारण बन ऐन संशोधन गरी आवश्यक कानुनी व्यवस्था गर्न तथा चीनसंग सीमा जोडिएको छेकम्पारको डुईला भन्ज्याङ र सामागाउँको रुईला भन्ज्याङ नाका खुल्ला गर्न आवश्यक कूटनीतिक पहल गरिदिन समेत आग्रह गरिएको छ ।
अध्यक्ष लामाले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा पहिरोको जोखिममा रहेको देवलका ७६ र लोक्पाका २५ घरधुरीलाई बस्ती स्थानान्तरण गरिदिन, पालिकाको केन्द्र जोडने गरी बुढी गण्डकी नदीमाथि मोटरेवल पुलको व्यवस्था गरिदिन, छेकम्पारको छुलेनिले, चुम्चेत, जगत, ल्हो र सामागाउँमा सञ्चार सम्पर्कका लागि असहज भएको भन्दै फोजी सहितको टावर निर्माणका लागि पहल गरिदिन आग्रह गरिएको छ ।
त्यस बाहेक पनि पालिकाले प्रधानमन्त्री प्रचण्डलाई हिमाली आवसित छात्रावासको कोटा थप गर्न, जडीबुटी भण्डार तथा प्रशोधन केन्द्र स्थापना गरिदिन, हालको मनासलु पदमार्ग परिवर्तन गरी आँगासस्र्यु–लोक्पा–सिपचेत–धुम्जे–गुम्बालोङडाङ हुँदै गणेश हिमाल बेश क्याम्प हुँदै गाला–छेकम्पार पदमार्ग कायम गरिदिन, समग्र गाउँपालिकालाई विशेष क्षेत्र घोषणा गरिदिन समेत आग्रह गरिएको छ ।