पोखरा- पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीलाई सहकारी प्रकरणमा अदालतले धरौटीमा छाडेलगत्तै प्रहरीले पक्राउ गरेको छ।
पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा फरार सुवेदी कानुन व्यवसायी लिएर मंगलबार जिल्ला अदालतमा पुगेका थिए।
जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजालसले उनलाई ८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश पनि दियो।
सहकारी प्रकरणमा धरौटीमा छुटेका उनलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको छ।
घरजग्गा कारोबार ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए।
उनीविरुद्ध २ करोड १० लाख रुपैयाँ ठगी आरोपमा उजुरी परेको थापाले बताए। सुवेदीमाथि सहकारीमार्फत ग्राहकको घरजग्गा कब्जा गरेको आरोप लागेको छ।
मित्रमिलन सहकारी ठगीमा जोडिएका कानुन व्यवसायी जनकल्याण पराजुलीलाई पनि अदालत गत आइतबार ३ लाख धरौटीमा छाडिसकेको छ।