काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागार कार्यालय नक्खुमा निर्मित विपश्यना केन्द्र ‘धम्मासय’को उद्घाटन गरेका छन् ।
कारागार कार्यालय नक्खु र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग काठमाडौंद्वारा आयोजित उद्घाटन कार्यक्रमसँगै यहाँ ४८ कैदीबन्दीका लागि १२ दिनसम्म ध्यान शिविर सञ्चालन हुनेछ ।
यससँगै नेपाल विपश्यना केन्द्रले देशभरी १९ वटा ध्यान केन्द्र निर्माण गरेको छ। नक्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि सञ्चालनमा आएको हो ।
ध्यान केन्द्रको उद्घाटन गर्दै उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले कानुनी र प्रशासनिक तवरबाट मात्रै नभएर आफ्नै महत्वबोध गराउने ध्यानबाट समेत सुशासन तथा सुधार अगाडि बढाउन सकिने बताए । आफूलाई फेर्ने, स्वजागृत हुने र समाज रूपान्तरण गर्ने चिन्तन ध्यानबाटै प्राप्त हुने उनको भनाई छ ।
अग्रज रूपचन्द्र विष्टले आफूसँगको कुराकानीमा ‘मानिस सिद्धार्थ गौतम नबनी एकैचोटी बुद्ध बन्न खोजेको,’ बताएको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई बदलेर मात्रै बुद्ध बन्न सकिने बताए ।
कानुन लागू गर्ने वा सेवा दिने मान्छे स्वयंमा असल हुनुपर्ने र ध्यानले मानिसलाई असल बन्न मद्दत गर्ने भएकोले आफूले गृह मन्त्रालय र अन्तर्गतका निकायमा ध्यान संस्कृति निर्माण गर्ने प्रयास गरेको उनले बताए ।
कैदी बन्दीलाई सम्बोधन गर्दै उनले भने, ‘एक पटक गल्ती गर्नभयो, अपराध गर्नुभयो । ध्यानले अब म असल बन्छु, फेरिन्छु, बदलिन्छु भन्ने सोच तपाईँहरूमा आउनेछ ।’
कार्यक्रममा विपश्यना ध्यान केन्द्रका क्षेत्रीय आचार्य डा.रुप ज्योतिले मन शुद्ध भए मात्रै शरीर स्वस्थ हुने र विपश्यनाले मनलाई शुद्ध बनाउने बताए । केन्द्रले १६ देशका कारागारमा शिविर सञ्चालन गरिसकेको र उपप्रधानमन्त्री श्रेष्ठले ध्यानको महत्त्व बुझेकै कारण नक्खु कारागारमा समेत केन्द्र र शिविर सञ्चालन भएको बताए ।