नेपालगन्ज- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी नेतृत्वको वर्तमान सरकारले छोटो समयमै देश र जनताका लागि उदाहरणीय काम गर्दै अगाडि बढिरहेको दाबी गरेका छन्।
माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिले शुक्रबार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, आर्थिक अवस्थामा सुधार र सामाजिक रुपान्तरणसँगै विकास निर्माणका काममा सरकारले उल्लेखनीय कार्य गरेको बताए।
उनले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अझै पनि ठूलठूला कार्य गर्ने प्रतिबद्धता जनाउँदै भ्रष्टाचार र देशको सम्पत्ति लुट्ने कार्यमा संलग्न कसैलाई पनि नछाडिने दाबी गरे।
मन्त्री श्रेष्ठले भने, ‘सरकारले सुरु गरेका सुशासनका काम पूरा गर्न कुनै पनि दबाब र हस्तक्षेपका अगाडि झुक्ने छैन, गलत कार्यमा संलग्न मानिस जुनसुकै ओहोदा वा दलको भए पनि कानुनी दायरामा ल्याइनेछ।’
नेपाली कांग्रेससँगको वर्तमान सत्ता गठबन्धन पूरै अवधिका लागि जारी रहने दाबी गर्दै उनले यो सरकारले नेपाली जनतामा सकारात्मक सन्देश दिन सफल भएको बताए।
गृहमन्त्री श्रेष्ठले देशको आर्थिक अवस्थामा समेत सानो समयमै धेरै सुधारका संकेत देखिएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले बढीभन्दा बढी आर्थिक क्रियाकलाप र गतिविधि गर्न सकिने गरि बजेट ल्याउने छलफल चलिरहेको जानकारी दिए।
माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका श्रेष्ठले सरकारलाई सफल बनाउन पार्टी पनि बलियो र चलायमान हुनु अति आवश्यक भएको जनाउँदै नेता तथा कार्यकर्तालाई गुटबन्दीमा नलाग्न आग्रह गरे।
उनले व्यक्तिगत स्वार्थका लागि गरिने गुटबन्दी पार्टीका लागि सबैभन्दा घातक हुने बताउँदै गुटबन्दीमा नलागि पार्टीको विधि र विधान अनुसार अगाडी बढ्नु आवश्यक रहेको कुरामा विशेष जोड दिए।
वर्तमान सरकारले नेपालको इतिहासमा नभएका काम गरेको दाबी गर्दै श्रेष्ठले पार्टीका नेता/कार्यकर्तालाई जनताको घरघरमा पुगेर सरकारका राम्रा कामको प्रचार गर्न निर्देशन दिए।
उनले पार्टीलाई बलियो र सुदृढ बनाउन नै माओवादी केन्द्रले हुलाकी राजमार्गमा तराई मधेस जनजागरण अभियानलगायत दुईवटा अभियान सञ्चालन गर्न लागेको जानकारी दिँदै अभियान सफल पार्न सबैले एकजुट भएर लाग्न आह्वान गरे।