वीरगन्ज– वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले समाजमा सद्भाव कायम गर्नका लागि युवा वर्ग सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुताका बारेमा सचेत हुनुका साथै अरूलाई पनि सचेत बनाई समाजलाई शान्त र सभ्य बनाउनुपर्ने प्रमुख सिंहको भनाई छ ।
वीरगन्जको आदर्शनगरस्थित त्रिशाल रेस्टुरेन्टमा आयोजित हल्ट प्राईज वीरगन्ज पब्लिक कलेज (बिपिसी) को समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख सिंहले वैभव वीरगन्ज बनाउनका लागि ऊर्जाशील एवम् सृजनशील युवाको महत्त्वपूर्ण भूमिका हुने बताए ।
उनले भने, ‘तपाई युवाहरू नै मेरो ऊर्जाको स्रोत हुनुहुन्छ । त्यसैले हामी सबै मिलेर वीरगञ्जलाई वैभव बनाउने अभियानलाई सफल पारौँ । हामीले गरिरहेका कामलाई अझै राम्रो र प्रभावकारी बनाउने खालका कुनै योजना छन् भने आउनुहोस् सहकार्य गरौँ ।’
२१ महिनाको अवधिमा आफूले महानगरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने कार्यको शुभारम्भ गरेको बताउँदै उनले आफ्नो कार्यकालमा वीरगन्जको मुहार फेर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले जागिर खोज्ने भन्दा पनि रोजगारी सृजना गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘हामीले अब काम खोज्ने हैन काम दिने मान्छे बनाउनुपर्छ । कुनै पनि काम सानो ठुलो हुँदैन । मान्छेले के भन्लान् भनेर काम नगर्ने सोच र प्रवृत्तिलाई त्यागेर मेहनत र लगनमा विश्वास गरौँ ।’
साथै उनले वीरगन्ज महानगर प्रमुख सिंहको नेतृत्वमा छोटो समयमा वीरगन्जमा भएको परिवर्तनको प्रशंसा गरे । उनले भने, ‘कोही बाहिरबाट आउने अतिथिहरूलाई म वीरगन्जमा एक रात बसाएर रातिको समयमा वीरगन्ज घुमाएर पठाउँछु । त्यसपछि उहाँहरूले वीरगन्ज परिवर्तन भएको आभास गर्नुहुन्छ ।’ उनले थपे, ‘म आफै पनि मेयरको आकाङ्क्षी थिए । यदि टिकट पाएर जितेको भए पनि अहिलेको जस्तो काम गर्न सक्ने थिएन ।’
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले यहाँका उद्योग व्यवसायमा आवश्यक पर्ने जनशक्ति बाहिरबाट बोलाउनुपर्ने बाध्यता रहेको बताए । उद्योग तथा कलकारखानाका लागि आवश्यक पर्ने जनशक्ति यहीँ उत्पादन गर्न सके कोही पनि बेरोजगार हुनुपर्ने अवस्था नआउने उनको जिकिर छ ।
हल्टप्राइज फाइनलका लागि मोहित ग्रुपका प्रबन्ध निर्देशक मोहित गुप्ता, लिटिल एञ्जल स्कुलका प्रबन्ध निर्देशक एवम् प्रिन्सिपल सन्नी पाख्रिन, कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) पर्साका अध्यक्ष प्रशान्त कुमार र सिटिजन बैंकका रिजनल हेड नितेश खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका छन् । कार्यक्रमको सहजीकरण शिवम साहले गरेका थिए ।