काठमाडौं- नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीकै हुने बताएका छन्।
सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले राष्ट्रिय सभाको ठूलो दलको हिसावले अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताएका हुन्।
उनले हालसम्म गठबन्धन दलहरुका बिचमा अध्यक्ष पद कसलाई दिने भन्नेमा सहमति नभएको स्पष्ट पारे। उनले आगामी दिनमा सरकारको नेतृत्वमा आलोपालो हुँदा माओवादी केन्द्रसँग केही नहुने भन्दै राष्ट्रिय सभा अध्यक्ष आफूहरुकै हुने बताए।
उनले भने, ‘राष्ट्रिय सभाको सबभन्दा ठूलो दल हाम्रा हो। उसले दाबी नगरे कसले गर्छ? संस्थागत रुपमा कसैको पनि सहमती भएको छैन। संस्थागत सहमति भएको छैन। ठूलो दलले दाबी नगरेमा कसले गर्ने? भोलि सरकारको आलोपालो होला। त्यतिबेला हामी त संसदमा पनि हुँदैनौँ। सरकारमा पनि हुँदैनौँ। सबैतिर शून्य हुन्छ। त्यो हाम्रै हुन्छ।’
सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले कांग्रेसले महासमिति बैठकबाट आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको बारेमा पार्टीको स्थायी समिति बैठकमा छलफल हुने बताए।