काठमाडाैं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको एकै पटक १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सिञ्चाई निर्माण सम्झौता गर्दा झुट्टो बिलविजक तयार गरेर रकम हिनामिना गरेको आरोपमा अख्तियारले आदनचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले पाण्डेसहित इन्जिनियर मकरध्वज शाही, सवइन्जिनियर जयराम छत्याल, योजना शाखामा रहेका सरसफाइ टेक्निसिन मंगल भण्डारी, तत्कालीन लेखापाल दीपक नेपाली, वडा नम्बर ३ का वडाध्यक्ष दत्त विष्ट, गाउँपालिका उपप्रमुख सौमती रावल ऐडी, अनुगमन समिति सदस्य मानबहादुर टमटा र धनसरा टमाटा, उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाया र कोषाध्यक्ष सिर्जना बुमीलाई प्रतिवादी बनाएर मुद्दा चलाएको हो ।
उनीहरू विरुद्ध ४२ लाख, २९ हजार ३५८ रुपैयाँ हिनामिना गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।
झुट्टा बिल भरपाई र कागजातको आधारमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी ४२ लाख २९ हजार ३५८ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरी सरकारी रकम हानि नोक्सानी पुर्याएको अभियोग पत्रमा उल्लेख छ ।
त्यसै गरी उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीविरुद्ध पनि ४२ लाख २९ हजार ३५८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।