काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कांग्रेसद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भनिएको राजनीतिक बेइमानीको आरोपप्रति असन्तुष्टि जनाएका छन्।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइरालाको सन्दर्भ जोड्दै कांग्रेसप्रति कटाक्ष गरे।
‘गिरिजाप्रसाद कोइरालाले ठीकै व्यक्ति ठान्नुभएछ। अब यो देश सबै हिसाबले तपाईंले सम्हाल्नुहोला भनेर कमरेड प्रचण्ड, जो आजको प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई जिम्मा लगाएको कुरा साँचो हो। उहाँले जिम्मा लगाउनुभयो। आज प्रधानमन्त्रीले उथलपुथल शब्दको प्रयोग गर्नुहुन्छ। कोही पनि आतंकित हुन जरुरी छैन। गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी प्रधानमन्त्रीले प्रयोग गर्दै हुनुहुन्छ’, उनले भने।
पौडेलले प्रधानमन्त्री प्रचण्डले नै कांग्रेसलाई राष्ट्रपति पद दिलाउन भूमिका खेलेको बताए। भने, ‘अस्ति राष्ट्रपति निर्वाचनका बेलामा प्रधानमन्त्रीलाई अर्कै प्रस्ताव थिए होलान् नि त। तर राष्ट्रपति मिलेर गरौँ भनेर अहिलेका बहालवाला प्रधानमन्त्रीले कोसिस गर्नुभएको बिर्सिनुभयो?’