गोरखा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन हुने चेतावनी दिएका छन्।
शुक्रवार गोरखा उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती कार्यक्रममा बोल्दै उनले सरकार बनाउन बहुमत जुटाउन नसके मध्यावधि निर्वाचन हुने चेतावनी दिएका हुन् ।
गठबन्धन सरकारलाई पाँच वर्ष टिकाउने माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ पूरा नभएको भन्दै उनले भनेु- ‘मलाइ मुख्यमन्त्री बनाउँछु भन्नुभएको थियो उहाँले बनाउनु पनि भयो तर यात्रा बिचमै टुट्यो।’
देशको नेतृत्व गर्ने मान्छे नै अस्थिरताको कारण हुन थालेपछि मुलुकको अवस्था के होला भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।
अहिले संघमा बनेको गठबन्धन अघि बढे गण्डकी प्रदेशमा कुनै पनि पार्टीको सरकार बन्न नसक्ने उनले दाबी गरे ।
फ्रेस म्यान्डेट लिनु भन्दा यसको निकास खोज्न राजनीतिक दलहरूलाई आफूले आग्रह समेत गर्दै आएको उनले जानकारी दिए ।
मुख्यमन्त्री पाण्डेले देशमा बेरोजगार बढेर देश वृद्धाश्रम जस्तो हुन थालेको बताए ।