काठमाडाैं- अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा बढीभन्दा बढी अमेरिकी व्यवसायीलाई सहभागि गराउन राजदूतसँग आग्रह गरेका छन्।
आफूलाई बधाई दिन आइतबार मन्त्रालयमा उपस्थित भएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँग मन्त्री पुनले बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरेका हुन्।
उनले नेपालमालगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै त्यसका लागि आवश्यक कानुनी तथा व्यवहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताए।
‘अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल भर्जिन ल्याण्ड हो’, पुनले भने, ‘लगानी सम्मेलनमा अमेरिकी व्यवसायीको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु।’
उनले लगानी सम्मेलन पूर्वनिर्धारित मितिमै हुने उल्लेख गर्दै सरकारले तयारीलाई तीव्रता दिइरहेको बताए। लगानी सम्मेलन आगामी वैशाख १६ र १७ गते गर्ने तालिका छ।
जवाफमा राजदूत थम्पसनले लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ता ठूलो संख्यामा आउन इच्छुक रहेको बताएको मन्त्री पुनको सचिवालयले जनाएको छ।