रोल्पा- नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाएका छन् ।
एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ पुगेका ज्ञवालीले दश बर्ष चलेको द्वन्द्वले विकास गर्यो कि बिनाश गर्यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाएका हुन् ।
‘दश बर्षसम्म चलेको द्वन्द्वले क्रान्ती सफल गरेन । ‘उपमहासचिव ज्ञवालीले भने-‘जनताको अवस्था फेरिएन । नेताको मात्रै जीवन स्तर उकासियो ।’ उनले क्रान्तीको सपना देखाएर जनतालाई ढाँटिएको भन्दै रोल्पाली जनता भ्रममा पर्न नहुने बताए ।
सुन तस्करीको प्रसङ्ग कोट्याउँदै उपमहासचिव ज्ञवालीले द्वन्द्वबाट स्थापित भएका नेता र उनका छोराहरू सुन तस्करीमा जोडिनु यहाँका जनताका सपनामाथि कुठाराघात भएको टिप्पणी गरे ।
‘दश बर्ष द्वन्द्व के नेता र नेताका छोराले सुन तस्करीको लाइन मिलाउन थियो,’ उनले भने-‘द्वन्द्वले रोल्पालाई के दियो भन्दा सुनैसुनका घर दियो भनेर ब्यंग्य गर्नेबेला आयो । यो बिडम्बना हो ।’
एमाले सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले अहिलेको गठबन्धन विदेशीको इशारामा नभएको बताइन् । काग्रेस-माओवादी गठबन्धनले मुलुक चौपट भएकाले देशको सम्बृदिका लागि एमाले र माओवादीको गठबन्धन बनेको बताइन् ।