काठमाडौं– मधेश प्रदेशका सबैभन्दा धेरै पालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको पाइएको छ ।
शाखा अधिकृतको दरबन्दी रहेको ठाउँमा नायब सुब्बाले नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिरहेका छन् । मधेश प्रदेशमा जम्मा १३६ वटा स्थानीय तह रहेका छन् ।
३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा गाउँपालिका रहेको यस प्रदेशमा ३ उपमहानगरपालिकामा उपसचिव, ७३ नगरपालिका मध्ये ५५ मा शाखा अधिकृत र ५९ गाउँपालिकामध्ये २० वटामा सुब्बाले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिरहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृतको राज हटाउने भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जति खोके पनि कार्यन्वयनमा उस्तै ताल देखिन्छ । कुनै समय ३ सयभन्दा बढीको संख्यामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको राज रहेकोमा अहिले साढे दुई सयभन्दा बढी स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ ।
केन्द्रले खटाएका प्रशासकीय अधिकृतलाई अनेकन नाममा लखेट्ने र निमित्त दिएर लुट्ने धन्दा अहिले स्थानीय तहमा चलिरहेको छ ।
सामान्य प्रशासनकै तथ्यांक अनुसार अहिले मुलुकभरका एक तिहाई अर्थात २४६ पालिका निमित्तकै भरमा चलिरहेका छन् । जसमा सबैभन्दा धेरै नगरपालिकामा ‘निमित्त’को राज छ ।