काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन गरेर चुनाव जितेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र (गाेरखा-२) का मतदातालाई के जवाफ दिन्छन् भनी प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा रहेको भन्दै शर्माले प्रधानमन्त्रीले जनताले चुनावमार्फत बनाएको गठबन्धन भत्काएकाले विश्वासको मत नदिने बताए ।
कांग्रेसले द्वन्द्वको पीडा बिर्सेर माओवादीलाई भोट दिन कार्यकर्तालाई निर्देशन दिएको र त्यही भोटका आधारमा प्रचण्ड र धेरै माओवादी नेताले चुनाव जितेको शर्माले जिकिर गरे ।
भिडिओ
अहिले निर्वाचन क्षेत्रमा गएर के जवाफ दिने भन्दै महामन्त्री शर्माले प्रचण्डलाई सोधे, ‘उथलपुथल भएको भनेर जवाफ दिने ? मसँग त अहिले दिने जवाफ छैन, गोरखाका साथीहरुलाई यहाँले दिने जवाफ छ ?’
प्रचण्डले माओवादीको बलमा कांग्रेस पहिलो दल भएको भनी दिएको अभिव्यक्तिको पनि शर्माले खण्डन गरे ।
गठबन्धन गरेर गएपछि एउटाले अर्कोलाई मत दिनु स्वभाविक भएको उल्लेख गर्दै उनले माओवादीले ल्याएको सिट पनि कांग्रेसको बलमा भएको नभुल्न आग्रह गरे ।
महामन्त्री शर्माले कांग्रेसले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई सोधेर नलेख्ने जवाफ दिए । ‘कांग्रेसले डकुमेन्ट कांग्रेसलाई सोधेर लेख्छ । देशको प्रधानमन्त्री कम्युनिस्ट पार्टीको नेतालाई सोधेर लेख्दैन’, शर्माले भने ।