काठमाडौं– नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि गम्भीर प्रश्न उठाएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा सुरुमै उठेर कांग्रेसका सांसदहरु उठे । सभामुख देवराज घिमिरेले समय दिएपछि बोल्दै कांग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएका हुन् ।
‘अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुने एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ,’ उनले भने ।
भिडिओ
गृहमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न रहेको उनले दोहोर्याए । सहकारी पीडितहरु आन्दोलनमा रहेको उल्लेख गर्दै उनले सहकारी पीडितको माग कसरी सम्बोधन गर्नुहुन्छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरे ।
उपप्रधानमन्त्री लामिछानेलाई उनको प्रश्न छ, ‘सहकारीको आदर्शविपरीत गर्न नहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, सेयर सदस्य नभएका व्यक्ति, पाउनै नपर्ने व्यक्तिले पाउनै नपर्ने ऋण प्रवाहको सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानुनी दायरामा ल्याउनुहुन्छ ?’
उनले गृहमन्त्री लामिछानेलाई ठूला माछा उम्काउने हतियार बनाउन लागिएको हो कि भन्दै आशंका व्यक्त गरे।
‘कतै तपाईंको पोजिसनलाई रक्षाकवच बनाएर एक/दुई करोड मात्रै अभियोग लागेका तपाईंलाई सिखन्डीको भूमिकामा अघि सारेर दसौँ अर्बको ठगी गर्ने ठूला माछा उम्काउने जानी नजानी हतियार त बनिरहनुभएको छैन’, उनले भने।
यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ।
सहकारी पीडितको प्रदर्शन राजधानीमा एकैसाथ सुरु भएको भन्दै उनले अनुसन्धानको कमान्ड सम्हालेका गृहमन्त्री स्वयं यसका आरोपित भएको जिकिर गरे।