सिराहा– कल्याणपुर नगरपालिकाको उपमेयर रेखा यादवले सरकारी गाडीको दुरुपयोग पाइएको छ। उपमेयर यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको हो ।
नगरको कामकाजमा सहजताका लागि नगरपालिकाले उपमेयरलाई दिएको सरकारी गाडी उनले निजीझैँ प्रयोग गर्दै आएको स्थानीयहरू बताउँछन्।
कार्यालयमा बिरलै देखिने उपमेयर यादव चढ्ने प्रदेश २–०२००१ झ ००३६ नम्बरको स्कोर्पियो निजी काममा प्रयोग गरेको स्थानीय राम कुमार यादवले बताए । उनले भने , ‘उनी त उनी, उनका श्रीमान् अजय यादवले समेत बिहे भोजभतेर लगायतको निजी कामकाजमा प्रयोग गर्दै आइरहेका छन् ।’
कल्याणपुर गाउँबाट सोमबार अबेर राती उपमेयरको श्रीमान् यादव र गाउँका ४/७ जनालाई गाडीमा बोकेर जन्तीको लागि जनकपुर गएको नाम नखोल्ने सर्तमा एक स्थानीयले बताए। उनले भने, ‘जनकपुरस्थित आरजी होटेलमा कल्याणपुरबाटै गएको जन्तीमा बिहेका सामग्री लोड गरी उनी त्यहाँ गएका थिए ।’
सोमबार सार्वजनिक बिदा थियो । उनी जनकपुर जाँदा बाटो कयौँ प्रहरी र ट्राफिक कार्यालय पार गरे । तर, कसैले केही गरेनन् । सरकारी गाडीको दुरुपयोग गरेको विषयमा स्थानीयले निरन्तर रूपमा विभिन्न माध्यमले सरोकारवाला निकायलाई जानकारी गराए पनि सम्बन्धित निकाय मौन भएर बसेका छन्।
गाडीको दुरुपयोग गर्नेलाई कानुनी कारबाहीको व्यवस्था नै छ । तर, सरोकारवाला निकायले यस विषयमा मौनता साँधेको स्थानीयहरूले आरोप लगाएका छन्।
उनी नेकपा एमालेबाट निर्वाचित भएकी हुन् । यस बिषयमा उनीसंग बुझ्न खाेज्दा सम्पर्क हुन सकेन।