काठमाडौं– माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सुदूरपश्चिम प्रदेश, कैलालीको गोदावरी नगरपालिका–६, बडेहाँस्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ।
बिहीबारका दिन एक औपचारिक कार्यक्रमकाबीच बैंकले निर्माण गरेका ८ वटा शौचालयहरू विद्यालय व्यवस्थापन समिति एवम् विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको हो।
शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका–६ का वडाअध्यक्ष जहरु साउदले माछापुच्छ्रेले जिल्लाको सरकारी स्कुललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे।
उनले माछापुच्छ्रे बैंकले जस्तै अन्य संघसंस्थाहरूले पनि स्थानीय निकायहरुसँग मिलेर अन्य यस्तै काम गर्दै गए देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुँदै जाने विश्वास व्यक्त गरे।
बैंकका महाप्रबन्धक प्रसिद्धराज अर्यालले विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाए पश्चात बैंकले विद्यालयमा पूर्वाधार निर्माण गरेको बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाठकले बैंकले विद्यालयप्रति गरेको सामाजिक कार्यको सराहना गर्दै यस्ता सहयोगले विद्यालय संचालनका लागि उत्प्रेरणा मिल्ने बताए।
१८०० भन्दा बढि विद्यार्थी र ३५ जना शिक्षक-कर्मचारी कार्यरत विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निकै खराब रहेको हुँदा बैंकले शौचालय तथा सेफ्टी ट्याङ्की निर्माण गरेको हो।