काठमाडौं- सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिने भएको छ।
जिल्ला अदालत काठमाडौंले पहिलो पटक दिएको ४ दिनको म्याद बिहीबार सकिएको छ।
बिहीबार नै म्याद सकिए पनि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा ब्युरो (सीआईबी)ले अदालत नलैजाने भएको हो।
हाजिरी जमानीमा छाड्नका लागि उनको फाइल सरकारी वकिल कार्यालयमा पठाइसकिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।
सरकारी वकिल कार्यालयको रायपछि सीआईबीमा कागज गराएर महरालाई परिवारको जिम्मा लगाइने भएको छ।
पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा सीआइबीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो।
त्यसपछि अदालतकै आदेशअनुसार महरा अहिले उपचारका लागि नर्भिक अस्पतालमा छन्।
इलेक्ट्रिक सिगरेट (भेप) मा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरा राहुल महरा पहिले नै पक्राउ परेका थिए।
भेपको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग सम्पर्क देखिएको र उक्त सुन विमानस्थल भन्सार कार्यालयबाट छुटाउन कर्मचारीलाई टेलिफोन गरेको पाइएपछि महरालाई पक्राउ गरिएको थियो।
यसअघि नै महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको थियो। उनीहरू अहिले पनि पुर्पक्षका लागि थुनामा छन्।
उनले इन्कारी बयान दिएको र अन्य प्रमाण पनि फेला नपरेको सीआईबी स्रोतले जनाएको छ।