काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणले काम गर्न नसके फेरि पनि उथलपुथल हुन बेर नलाग्ने बताएको छन्।
बिहीवार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले विकास निर्माणको कामलाई गतिदिने, सुशासन कायम गर्नेलगायतका कामहरू गर्ने भनेर आफूले नयाँ सत्ता समीकरण बनाएको उल्लेख गर्दै ती काम पनि हुन नसके फेरि पनि उथलपुथल गर्न बेर नलाग्ने बताए।
उनले भने, ‘विकासलाई गति दिने, सुशासन कायम गर्नेक्रममा पनि हुनत अहिले समिकरण चेन्ज गरेर हाम्रो मुख्यमन्त्रीजीले उथलपुथलकारी काम भनिदिनु भयो। उथलपुथल त पहिल्यै भनेको थिएँ। म के भन्छु भने साँच्चै यी कुनैपनि काम अघि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन।’
कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर आफूले यस अघि पनि सार्वजनिक रुपमै भनेको उल्लेख गर्दै उनले त्यस अवस्था कायमै रहे पद ओगटीराख्नुको औचित्य पुष्टि नहुने स्पष्ट पारे।
प्रधानमन्त्री प्रचण्डले अझै पनि काम गर्न सकिने सम्भावना देखेरनै आफू पदमा बसिरहेको स्पष्टिकरण पनि दिए।
उनले भने, ‘पद त मेरो सुरक्षित नै थियो। तर काम अझ तीब्र गतिमा गर्न सकियोस्, सुशासन अझ तिब्र गतिमा कायम गर्न सकियोस्। विकास, निर्माणलाई अझ तिब्र गतिमा अघि बढाउन सकियोस् भन्ने मान्यताले मात्रै समीकरण बदलेको हो।’